धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारत एक एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९:३० बजे उपचारका क्रममा बिपीमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको बताए । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।
त्यस्तै चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।
निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
धरानमा दुई सय बढी संक्रमित थपिए
धरान उपमहानगरपालिकामा मंगलबार बिहान २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
आइतबार एन्फा क्वारेन्टिन र बिपी प्रतिष्ठानमा स्वाब सङ्कलन भएकामध्ये तिनीहरुमा पोजेटिभ देखिएको उपमहानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । यससँगै धरानमा सङ्क्रमितको सङ्ख्या २ हजार २१३ पुगेको बताइएको छ ।