शुक्रबार राती सम्पन्न आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सललाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।
मुम्बईको जितमा ओपनर तथा विकेटकिपर क्विन्टन डी कक ४४ बलमा ९ चौका र ३ छक्का सहित ७८ रनमा अविजित रहे । हार्दिक पान्ड्या २१ रनमा अविजित रहे । हार्दिकले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
मुम्बईलाई ओपनर रोहित शर्मा र डी ककले १०.३ ओभरमा ९४ रनको साझेदारी गर्दै सहज जिततर्फ डोर्याएका थिए ।
शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकातालाई तीव्र गतिका बलर प्याट कमिन्सले तल्लोक्रममा ३६ बलमा ५ चौका र २ छक्का सहित ५३ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेले । नवनियुक्त कप्तान ओईन मोर्गनले २९ बलमा २ चौका र २ छक्का सहित ३९ रनको जिम्मेवारी उत्कृष्ट कप्तानी इनिङ खेले ।
एक समय ११ ओभरमा ६१–५ को कमजोर अवस्थामा रहेको कोलकातालाई छैटौं विकेटका लागि मोर्गन र प्याट कमिन्सले ५६ बलमा ८७ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै मध्यम योगफल सम्म पुर्याउन सफल भएका हुन् ।
मुम्बईले अव आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्नेछ । कोलकाताले आइतबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।
अंक तालिका
मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।
सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।