कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् ।
खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै धेरैको कपाल फुल्ने गरेको हो । केहीमा भने वंशाणुगत कारणले पनि कपाल चाँडै फुल्छ । यस्तै, थाइराइडले पनि यो समस्या निम्त्याउन सक्छ ।
कपालको जरामा मेलेनिन नामक कपाल रङ्गाउने कोषिकाले पिगमेन्ट बनाउन छोडेमा कपाल फुल्ने वा सेतो हुने हो । कपाल फुल्यो भन्दैमा आत्तिइहाल्नु पर्दैन । बजारमा उपलब्ध विभिन्न साधनहरुको प्रयोगद्वारा पनि कपाल फुल्ने समस्यालाई कम गर्न सकिन्छ । साथै, सेतो कपाललाई हटाउन वा लुकाउन पनि सकिन्छ ।
कपाल फुल्नबाट कसरी रोक्ने ?
कपाललाई विभिन्न तरीकाले सेतो हुनबाट रोक्न सकिन्छ । विशेषगरी, सन्तुलित र पोषणयुक्त खानेकुराको सेवनद्वारा कपाल सेतो हुनबाट रोक्नुका साथै कपाललाई स्वस्थ राख्न सकिन्छ ।
त्यसको लागि प्रोटिन, भिटामिन तथा फलफुल, सागसब्जी, अन्न लगायतका पोषक खानेकुरा खान जरुरी छ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । भिटामिन ए, सी, ई, बी १२, कपर, आइरन, फोलिक एसिड लगायतका मिनरल्स तथा जिङ्कको उचित मात्रामा सेवन गर्नुपर्छ । त्यस्तै, बोयोटिन (भिटामिन एच) को सेवन गर्नुपर्छ । यसले कपाललाई स्वस्थ राख्नुका साथै कपालको प्राकृतिक रङ्ग कायम राख्न मद्दत गर्छ ।
कपाललाई फुल्नबाट रोक्नका लागि गुणस्तरहीन स्याम्पू प्रयोगबाट बच्नुपर्छ । किनकी खराब स्याम्पूमा सल्फेट, फस्फेट, क्लोरिन, तथा अमोनियमको मात्रा धेरै हुन्छ, जसले कपाल रुखो तथा कमजोर बनाउने गर्छ । र, कपाल फुल्ने सम्भावना निम्त्याउँछ ।
बरु कपाललाई स्वस्थ राख्न कपालको नियमित मालिस गर्नु पर्छ । यसबाट कपालको जरामा रक्तप्रवाह हुने गर्छ । जसले कपाललाई स्वस्थ राख्छ । विशेषगरी बदाम, नरिवल वा तोरीको तेलले कपालको जरामा मालिश गर्नुपर्छ ।
एक अध्ययनका अनुसार धुमपान नगर्ने व्यक्तिको तुलनामा धुमपान गर्ने व्यक्तिको कपाल चाँडै सेतो हुने गर्छ । साथै, उनीहरुको कपाल रुखो तथा सुख्खा हुनुका साथै कमजोर हुने गर्छ ।