काठमाडौं- अष्ट्रेलियाका पूर्वब्याट्सम्यान डेभिड वार्नरमाथि ड्रिंक एन्ड ड्राइभ (मद्यपान गरेर सवारी चलाएको) मुद्दा दर्ता गरिएको छ।
सिड्नीमा प्रहरीले मापसेका क्रममा उनलाई समातेको थियो र पक्राउ गरेर प्रहरी चौकी लगिएको छ। उनलाई अर्को महिना अदालतमा उपस्थित गराइनेछ।
यो घटना सिड्नीको मारूब्रा क्षेत्रमा भएको हो, जहाँ प्रहरीले मापसेको छड्के जाँच गरिरहेको थियो।
वार्नर आफ्नो कार लिएर परीक्षण बिन्दुभन्दा अगाडि नै रोकिएका थिए, तर प्रहरीले उनीकहाँ पुगेर जाँच गरेको थियो। परीक्षणमा उनी मदिरा सेवनको अवस्थामा रहेको पाइयो।
प्रहरीले वार्नरलाई मारूब्रा प्रहरी स्टेशन लगेर परीक्षण गरेको थियो, जहाँ उनको अल्कोहल स्तर ०.१०४ रेकर्ड भएको बताइएको छ। त्यसपछि उनीविरुद्ध ड्रिंक एन्ड ड्राइभको मुद्दा दर्ता गरिएको हो।
वार्नर हाल पाकिस्तान सुपर लिगमा कराँची किंग्सको कप्तानी गरिरहेका छन्। खेलहरूबीचको विश्राममा उनी अस्ट्रेलिया गएका थिए। अब उनी ९ अप्रिलमा पेशावर जाल्मीविरुद्धको खेलअघि पाकिस्तान फर्किने तयारीमा छन्। यो खेल कराँचीमा हुनेछ।
वार्नरले २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनले अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदिवसीय र ११० टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। तीनै ढाँचामा गरी उनले १५ हजारभन्दा बढी रन बनाएका छन्।
सन्यासपछि पनि वार्नर फ्रेन्चाइज क्रिकेटमा सक्रिय छन्। गत सिजन बिग ब्यास लिगमा सिड्नी थन्डरका लागि उनले आठ खेलमा ४३३ रन बनाएर टोलीका सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए। उनले आगामी सिजनका लागि पनि टोलीसँग सम्झौता गरेका छन्।