म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत लाजुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको लार्जुङखोला र कैह्कुखोलामा २०/२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर जेमकुमार बैठाले दुई वटै पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताए।
वि.स. २०८१ वैशाख ११ मा लार्जुङखोलाको पुल बनाउन एस.के. धौलागिरीसँग रु. एक करोड ९७ लाख ६३ हजार एक सय ३५ र कैह्कुखोलाको पुल बनाउन बि.के.–के.सी.–जि.सी. जेभीसँग रु. पाँच करोड ३४ लाख ६३ हजार छ सय २४ मा ठेक्का सम्झौता गरेको थियो ।
यसअघि दुई वटै पुल बनाउन विस २०७५ मा रु. छ करोड ५४ लाखमा ठेक्का सम्झौता गरेको गणपति निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता वि.स. २०८० चैतमा तोडेर अधुरो काम सम्पन्न गराउन नयाँ ठेक्का लगाइएको थियो । ५०/५० प्रतिशत भौतिक प्रगति भएको अवस्थामा पुलको ठेक्का तोडिएको थियो ।
पर्वतको लामढुङ्गा देखि चिनको सिमानामा रहेको कोरला नाका सम्म दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत हालसम्म १५ वटा मोटरेबल पुल निर्माण सकिएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एक वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । छ बेलिब्रिज निर्माण भएको छ ।