काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की आज बालुवाटारबाट धापासीस्थित निजी निवासमा फर्किएकी छिन् ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले शपथ ग्रहण गरे लगत्तै कार्की बालुवाटार पुगेर धापासीस्थित निवासमा फर्किएकी हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले “सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ ।” भनी उल्लेख गरेकी छिन् ।
जन निर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी र निश्चिन्त भएको जनाउँदै उनले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डोर्याउने विश्वास व्यक्त गरेकी छिन् । साथै, यस यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी तथा सरोकारवालाप्रति उनले आभार व्यक्त गरेकी छन् ।
गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि भदौ २७ गतेदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । रामचन्द्र पौडेलले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नयाँ सरकार गठन गरेका थिए । सोही अवधिभित्र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरी नवनिर्वाचित नेतृत्वलाई कार्कीले जिम्मेवारी हस्तान्तरण गरेकी हुन् ।