काठमाडौँ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको २७औँ ‘फ्लोरा एक्स्पो’ आइतबार एक करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ। चार दिनसम्म चलेको उक्त मेलामा उल्लेखनीय दर्शक सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित चैत ५ गतेदेखि सुरु भएको मेलामा करिब ६० हजार ७०० जनाले अवलोकन गरेका थिए। मेलामा ६५ वटा व्यावसायिक, ११ वटा संस्थागत (अफिसियल) र दुई वटा प्रतिस्पर्धात्मक स्टल समावेश गरिएको थियो।
नेपालमा पुष्प व्यवसायमा हाल आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ भने करिब ५३ हजार ५०० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको जनाइएको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको थियो। चालु वर्षमा भने आयात ५४ दशमलव २७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। यता निर्याततर्फ १०९ दशमलव १६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख रुपैयाँ पुगेको एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए।