काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘नन-रेसिडेन्ट तथा ओभरसिज बैंकिङ’ सम्बन्धी छुट्टै विभाग सञ्चालनमा ल्याएको छ।
बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक उद्घाटन गरेका हुन्।
बैंकका अनुसार नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। नयाँ सेवाबाट विदेशमा रहेका नेपालीले बैंक खाता खोल्ने, कर्जा सुविधा लिने, कारोबारसम्बन्धी बैंकिङ सेवा प्रयोग गर्ने तथा पुँजी बजार र पोर्टफोलियो व्यवस्थापनसम्बन्धी सेवा लिन सक्नेछन्।
यी सेवाहरू बैंकको नक्सालस्थित कार्यालयका साथै इमेल, भाइबर, ह्वाट्सएप र विभिन्न देशमा रहेका प्रतिनिधि कार्यालयमार्फत उपलब्ध हुने बैंकले जनाएको छ। भविष्यमा यो सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने योजना पनि बैंकले बनाएको छ, जसले गर्दा भौगोलिक दूरी र समयको अवरोध बिना नै विदेशमा रहेका नेपालीहरूले नेपालसँग बैंकिङ सम्बन्ध कायम राख्न सक्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले विदेशमा रहेका नेपालीहरू देशको आर्थिक विकासका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै नयाँ सेवाले उनीहरूलाई स्वदेशमा लगानी गर्न र परिवारसँग आर्थिक सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने बताए।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यो विभागमार्फत आप्रवासी नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरण सुरु भएको बताए।