काठमाडौँ । जुम्लामा स्वास्थ्य जटिलता देखिएकी सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
तिला गाउँपालिका-३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीलाई प्रारम्भिक उपचारपछि थप चिकित्सकीय आवश्यकताका कारण कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको हो।
घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म पीडा बढेपछि उनलाई पहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको थियो। प्रतिष्ठानमा शल्यक्रियापछि पनि स्वास्थ्य अवस्था स्थिर नभएपछि थप उपचारका लागि सुर्खेत लैजान आवश्यक देखिएको अस्पतालले जनाएको छ।
उद्धार कार्य जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको थियो।