सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय क्षेत्र डिङ्बोचेको एक होटलमा भीषण आगलागी भएको छ ।
डिङ्बोचेमा अत्यधिक हिमपात भइरहेका बेला होटल गुडलकमा अचानक आगलागी भएको हो । आगलागीबाट होटलमा ठूलो क्षति पुगेको छ भने होटलमा रहेका ग्यास सिलिन्डरसमेत विस्फोट भएका छन् ।
बाक्लो हिमपात र अत्यधिक चिसोका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । हिमपातका कारण घटनास्थलसम्म पुग्न र तत्काल उद्धार तथा आगो निभाउने कार्य गर्नसमेत समस्या भएको जनाइएको छ ।
प्रहरीले भने आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । आगलागीको कारण, मानवीय क्षति भए–नभएको र भौतिक क्षतिको यकिन विवरण आउन बाँकी छ ।