म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो ।
डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए ।
जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राबिधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो ।
दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ ।
चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए ।
हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलो पटक वनकुखुरा भनिने कालिज पालन शुरु गरेका छन् । समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । छ महिनाका कालिज दुई किलोका भएका छन् । पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ ।
चितुवाले फार्मभित्र ६८ कालिज खाएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।
चितुवा पसेको जानकारी लगत्तै प्रहरीको टोलीले शुक्रबार विहानै देखि आसपासमा क्षेत्रमा सुरक्षा दिएको थियो ।
फार्मबाट निस्किएर सर्वसाधारणलाई समेत आक्रमण गर्न सक्ने जोखिमलाई मध्यनजर बस्तीमा आउन नदिने गरी फार्मभित्रबाट बाहिर आउने सबै बाटो बन्द गरिएको थियो ।
आहाराको खोजीमा चितुवा जाली नाघेर कालिजको फार्मभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ।