सत्तारुढ नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने तय भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलेको छ ।
हाल प्रधानमन्त्री केपी शर्मा ओलीले खासै चासो नदेखाएको भए पनि मन्त्रिमण्डल पुनर्गठन निश्चित जस्तै छ । मन्त्रिमण्डल पुनर्गठन नभएमा नेकपा विवाद फेरि बल्झिने संकेतहरु देखा परिसकेका छन् ।
मन्त्रिमण्डल पुनर्गठन हुने चर्चासँगै नयाँ मन्त्री को बन्ने चर्चा पनि चलेको छ । अहिले अर्थ र सूचना तथा सन्चार मन्त्रालय खाली छ । दुबै मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हालेका छन् ।
आलोचना र चर्चाको शिखरमा बामदेव छन । तर अर्थमन्त्रीका असली दाबेदारले भने बालुवाटारमा डेरा जमाइसकेका छन् ।
शुरुमा प्रधानमन्त्रीका आकांक्षी रहेका गौतमलाई हाल अर्थ मन्त्रालयको दाबेदारका रुपमा पनि कतिपयले हेर्छन् । कतिपयले उनलाई गृहका दावेदार समेत भन्छन् । तर गृहमन्त्री फेर्न पनि हालका गृहमन्त्री रामबहादुर थापालाई हटाउनुपर्छ । नयाँ अर्थमन्त्रीका लागि भित्रि प्रतिस्पर्धा सुरु भइसकेको छ । आगामी अर्थमन्त्रीमा पूर्वएमालेकै प्रतिनिधित्व रहने लगभग पक्का छ ।
बाहिर चर्चामा बामदेव देखिए पनि अर्थमन्त्रीको रुपमा यसअघि अर्थमन्त्री बनिसकेका पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र उर्जामन्त्री वर्षमान पुनः आन्तरिक तयारीमा छन् ।
अर्थ मन्त्रालयको जिम्मेवारी अनुभवी, विश्वासिलो र क्षमतावान नेतालाई नै दिने पक्षमा प्रधानमन्त्री पनि रहेको उनी निकट नेताहरु बताउँछन् ।
निषेधाज्ञा खुलिसक्यो तर काठमाडौंको न्यूरोड गेटमा साइकल समेत चलाउन नदिएर होल्ड
मन्त्रिमण्डल पुनर्गठन गर्दा जिम्मेवारी हेरफेर गरेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने संभावना पनि छ । ज्ञवालीले पनि त्यसका लागि प्रधानमन्त्री ओलीसँग लबिङ गरिरहेका छन्।
तर जानकारहरुका अनुसार अर्थमन्त्रीको दौडमा महासचिव पौडेल नै सबैभन्दा अगाडि छन् । उनी प्रधानमन्त्री ओलीका समेत विश्वास पात्र हुन्।
र यो पनि पढ्नुहोस् :
चुनाव हारेर माननीय बनेका बामदेवको आलोचना, तर यी किन गुमनाम ?
त्यसो त प्रधानमन्त्री ओलीसँग निकट रहेका पौडेलको रुचि पनि अर्थमन्त्रीमै छ । ओलीनिकट एक नेताका अनुसार केही दिनयता उनले त्यसबारे आफ्नो रुचि व्यक्त गरिसकेका छन् ।
यसअघि पनि अर्थमन्त्री चलाइसकेका र संकटको बेला आफूलाई सहयोग गर्दै आएका पार्टी महासचिव पौडेललाई अर्थ मन्त्रालय दिन सकिने ओलीले आफूनिकटलाई बताइसकेका छन् । नेता पौडेललाई प्रचण्ड–नेपाल पक्षले पनि स्विकार्ने ओलीको विश्वास छ ।
मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्वमाओवादी र पूर्वएमालेबीच भागबण्डामा तालमेल मिलेमा उर्जामन्त्री वर्षमान पुन पनि अर्थमन्त्री बन्ने संभावना छ । तर पूर्वएमालेले नै अर्थमन्त्री पाउने ओली निकटका एक नेताले केटीएम दैनिकलाई टेलिफोनमा बताए ।
अध्यक्ष प्रचण्ड निकट नेता पुनले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा प्रधानमन्त्री ओलीसँग पनि राम्रो सम्बन्ध बनाएको मानिन्छ । त्यसैगरी अर्को विकल्पको रुपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई लिइएको छ।
गौतमको चर्चा मात्रै धेरै
गौतम राष्ट्रिय सभामा जाने तय भएदेखि नै मनत्री बन्ने पकका भनेर चर्चा भयो । उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्ने भनेर नेकपाकै नेता जर्नाजन शर्माले समेत सार्वजनिक अभिव्यक्ति दिए । उनी अर्थमन्त्रीका दावेदार भनेर विभिन्न सञ्चार माध्यममा समाचार समेत आए । आइरहेकै छन् । तर प्रधानमन्त्री ओली भने उनलाई अर्थमन्त्री बनाउन अनिच्छुक देखिएको स्रोत बताउँछ । पहिलो अर्थ मन्त्रालय आफैसँग राख्ने ओलीको मनसाय छ । त्यसका लागि उनलाई निवर्तमान अर्थमन्त्री खतिवडाले सघाउने गरी ओलीले तयारी गरेका छन् ।
यदि त्यसो हुन नसकेकको खण्डमा पनि उक्त मन्त्रालय कुनै पनि हालतमा बामदेवलाई दिन नहुने ओलीको मनसाय छ । अर्थमन्त्री बनाउनै परे आफू निकटकै नेताहरुलाई बनाउने ओलीको अन्तिम तयारी भएको बुझिएको छ । त्यसमा बामदेव पर्दैनन् । त्यस कारण अर्थमन्त्रीका रुपमा बामदेवको चर्चा मात्रै हुने हो कि भन्ने अनुमान समेत कतिपयले गर्न थालेका छन्।