गत निर्वाचनमा बर्दियाबाट पराजित नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा जाने तय भएसँगै उनको खुब आलोचना भइरहेको छ। तर यसअघि गोरखाबाट पराजित नेकपाकै प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य भइसकेका छन्।
यी दुई मात्रै होइन राष्ट्रिय सभामा बामदेवलाई समेत जोड्ने हो भने विभिन्न तहका प्रत्यक्ष निर्वाचनमा पराजित सात जना छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा ३ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। चुनाव लड्न नचाहने तर संसद्मा आवश्यकता रहने कुनै विषयमा राष्ट्रिय ख्याति कमाएका विज्ञलाई ल्याउन मनोनीत सिटको व्यवस्था संविधानमा गरिएको हो।
स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा पराजित भएका सात जना राष्ट्रिय सभामा छन्(बामदेवसहित) भने एक जना प्रदेश प्रमुख भएका छन्। विभिन्न निर्वाचनमा जनताले अस्वीकार गरे पनि हाल मानननीय भएका अधिकांश सत्तारुरुढ नेकपाकै व्यक्ति हुन्।
विभिन्न निर्वाचनमा पराजित भएर पनि राष्ट्रिय सभामा पुगेकाहरु
राष्ट्रिय सभा अब चुनाव हारेका नेताहरूलाई व्यवस्थापन गर्ने थलो जस्तै बन्दै गएको कतिपयको टिप्पणी छ। चुनाव हारेर पनि सांसद भइसकेका नारायणकाजी श्रेष्ठ र अब राष्ट्रिय सभामा पुग्ने निश्चित भएका बामदेवबाहेक सप्तरी–४ बाट पराजित जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह पनि राष्ट्रिय सभा सदस्य छन्। प्रदेशसभा चुनावमा दाङ–३ (१) बाट पराजित नेकपाका जगप्रसाद शर्मा, तनहुँ भानु नगरपालिकाको प्रमुखमा पराजित भगवती न्यौपाने, कपिलवस्तु वाणगंगा नगर प्रमुखमा पराजित विमला घिमिरे र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–२ को वडा सदस्यमा पराजित सिंगबहादुर विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्य छन्।
र यो पनि पढ्नुहोस् :
चुनाव हारेकाहरू किन सत्तामा जान मरिहत्ते गर्छन्?
श्रेष्ठ २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा ७ हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए। गोरखामै जन्मेका श्रेष्ठले पहिलो पटक गृहजिल्लामै चुनाव लड्न टिकट पाएका थिए। तर तत्कालिन नयाँ शक्तिका नेता बाबुराम भट्टराईसँग पराजित भए। उनी यसअघि दोस्रो संविधान सभा निर्वाचनमा पनि मकवानपुर ४ बाट पराजित भएका थिए। पहिलो संविधान सभामा भने उनी मन्त्रिपरिषद्बाट मनोनीत २६ जनाको टिममा परेर संविधानसभामा पुगेका थिए।
राष्ट्रिय सभा सदस्य बन्ने पक्काजस्तैः भइसकेका गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। तत्कालिन लोकतान्त्रिक गठबन्धनका सञ्जयकुमार गौतम ४४ हजार ८ सय २९ मत ल्याएर विजयी हुँदा बामदेवले ४४ हजार ७६ मत प्राप्त गरेका थिए। यसअघि प्रधानमन्त्री बन्ने आकांक्षा राखेका गौतमले राष्ट्रिय सभामा नजाने अडान लिँदै आएका थिए। तर उपप्रधानसहित मन्त्री बन्ने आसमा पुनः राष्ट्रिय सभामै जान तयार भएको बताइन्छ।
सप्तरी–४ बाट पराजित जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह पनि राष्ट्रिय सभा सदस्य छन्। उनी गत निर्वाचनमा तेजुलाल चौधरीसँग १० हजार भन्दा बढी मतान्तरले पराजित भएका थिए।
दाङबाट प्रदेश सभा निर्वाचनमा कांग्रेसका डिल्ली चौधरीसँग पराजित नेकपाकै नेता जगप्रसाद शर्मा पनि राष्ट्रियमै छन्। उनी चौधरीसँग २ हजार ३३६ मत अन्तरले पराजित भएका थिए। उनी पूर्व माओवादीका नेता हुन्।
स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट तनहुँको भानु नगरपालिकाको मेयर पदमा पराजित भगवती न्यौपाने पनि अहिले राष्ट्रिय सभा सदस्य छिन्। उनलाई कांग्रेसका उम्मेदवार उदयराज गौलीले ४५१ मतले हराएका थिए।
कपिलबस्तुको वाणगंगा नगरपालिका प्रमुखमा पराजित उम्मेदवार विमला घिमिरे पनि राष्ट्रियसभा सदस्य भएकी छिन्।
र यो पनि पढ्नुहोस् :
‘बामदेवलाई मन्त्री बन्न संविधानले रोक्दैन, रोक्ने नैतिकताले हो’
सिन्धुपाल्चोकको लिसंखु–पाखर गाउँपालिकामा सदस्यमा पराजित उम्मेदवार सिंह बहादुर विक पनि राष्ट्रियसभा सदस्य नै छन्।
राष्ट्रियसभा सदस्य मात्रै होइन निर्वाचनमा पराजित भएका व्यक्ति अन्य पदमा समेत आसिन छन्। झापाको मेचीनगर नगरपालिकामा नगरप्रमुखमा पराजित उम्मेदवार विष्णु प्रसाईं बागमती प्रदेश सरकारको प्रदेश प्रमुख छन्। तत्कालिन नेकपा एमालेको तर्फबाट उनी मेयरका उम्मेदवार थिए। उनी नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित भएका थिए।
२०५४ सालमा नेकपा एमाले फुटेपछिको निर्वाचनमा उनी एमालेका तर्फबाट झापा क्षेत्र नं १ का लागि सांसदको उम्मेद्वार थिए। त्यो बेला पनि उनी पराजित भए। त्यसअघि उनी जिल्ला विकास समिति झापाको उपाध्यक्ष थिए।
अधिकांश नेकपाकै
सत्तारुढ नेककपासँग दुई तिहाइ नजिकको बहुमत छ। अधिकांश नियुुक्ति र निर्णयमा उसको प्रभाव रहने नै भयो। निर्वाचनमा पराजित भएर पनि पुनः जनप्रतिनिधि हुनेमा पनि अधिकांश नेकपाकै व्यक्ति छन्। स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचन जनताले अस्वीकार गरेपनि हाल उनीहरु माननीय छन्। जसमा बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभामा परराजित भए पनि माथिल्लो सदनको सांसद बने।(गौतम पनि बन्ने पक्का छ)
यसैगरी निर्वाचन हारेर पनि सांसद हुने शौभाग्य पाउनेमध्ये दुईजना मेयरमा पराजित छन्। तनहुँको भानु नगरपालिकाको मेयर पदमा पराजित भगवती न्यौपाने र कपिलबस्तुको वाणगंगा नगरपालिका प्रमुखमा पराजित उम्मेदवार विमला घिमिरे माननीय भएका छन्। त्यस्तै प्रदेशश सभामा पराजित जगप्रसाद शर्मा पनि माननीय भएका छन्। त्यस्तै झापाको मेचीनगर नगरपालिकामा नगरप्रमुखमा पराजित उम्मेदवार विष्णु प्रसाईं बागमती प्रदेश सरकारको प्रदेश प्रमुख छन्।