बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस पुष्टि भएको जोशीले जानकारी दिए ।
जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिए । गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उनले बताए ।
माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
स्क्रब कस्तो रोग हो ?
स्क्रब टाइफसको सन् १९३० मा जापानमा हासिमोतोले यो रोगको पहिचान गरेका थिए । यो एक प्रकारको ज्वरोजन्य रोग हो । जङ्गल, झाडी र खुला ठाउँको बीचको भू–भागमा बढी प्रकोप हुने भएका कारण यो रोगको नाम स्क्रब टाइफस राखिएको बुझिन्छ । यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सुक्ष्म कीरा (माइट)को टोकाइबाट फैलिन्छ । यो रोग उत्पन्न गर्ने माइट सामान्यतया मुसाको कानमा गएर बस्छ अनि पूरै रस चुसेपछि झर्छ । झाडीमा मुसाको रगत चुसेर जिउने माइट नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ ।
नेपालमा कुनै पनि बेला यो रोगले महामारीको रुप लिन सक्छ । सन् २०१८ मा २७ तथा सन् २०१६ मा यो संक्रमण ४८ जिल्लामा यो रोगको संक्रमण भेटिएको थियो । साढे तीन वर्षयता यो संक्रमणले ३४ जनाको मृत्यु भएको तथ्याङ्क छ । तर सरकारको तथ्याङ्कभन्दा धेरै नागरिकमा यो रोगको समस्या देखिएको स्वास्थ्य विज्ञहरुकै अनुमान छ ।
नेपालमा भने ‘मुसा ले यो रोग सारेको पाइएको छ। झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ।
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै ज्वरो आउने १०४ डिग्री भन्दा बढि र काम ज्वरो समेत आउन सक्दछ। टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन्। रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृ*त्यु समेत हुन सक्छ। यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ।
रोकथाम
किटाणु सार्ने माइटको सम्पर्क बाट टाढा रहनु नै यसको प्रमुख रोक थाम हो । यसको लागी घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केहि ओछ्याएर बस्ने गर्नु पर्दछ ।