काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारलाई बैंक खाता खोल्न ढिलाइ नगर्न निर्देशन दिएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित सबै खर्च बैंक खाता मार्फतै गर्नुपर्ने व्यवस्था भएको भन्दै बाँकी रहेका उम्मेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो।
आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक बिदा वा अन्य कारणले खाता खोल्नमा असुविधा हुनसक्ने देखिए पनि अब ढिलाइ नगर्न आग्रह गरिएको जानकारी दिइन्। उनले उम्मेदवारहरूले बैंकसँग सहजीकरणको लागि आवश्यक सहयोग लिन सक्ने समेत जानकारी दिइन्।
निर्वाचन आचारसंहिताअनुसार, चुनावी खर्च पारदर्शी बनाउन उम्मेदवारहरूले बैंक खातामार्फत मात्रै खर्च गर्नु पर्ने व्यवस्था आयोगले लागू गरेको छ।