डडेल्धुरा । नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको चहलपहल बढेको छ । रोजगारी तथा अन्य कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरू दसैँ मनाउन जन्मथलो फर्किन थालेका छन् । तर, दसैँको उमङ्ग र मौलिक संस्कृतिसँग जोडिएको परम्परागत पिङ भने पछिल्लो समय गाउँघरबाटै हराउँदै जान थालेको छ ।
विगतमा दसैँ आउनुभन्दा एक साताअघिदेखि नै गाउँटोलमा पिङ बनाउने चटारो हुन्थ्यो । पिङ राख्न युवादेखि वृद्धवृद्धासम्म जुट्ने गर्थे । पिङ खेल्ने बहानामा लामो समयदेखि भेट नभएका साथीभाइ र छिमेकीबीच भेटघाट हुने तथा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रमाउने वातावरण बन्थ्यो । अहिले भने यस्ता दृश्य क्रमशः दुर्लभ बन्दै गएका छन् ।
चार वर्षअघि रोजगारीका लागि भारतको ब्याङ्गलोर गएर फर्किएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकलाई पनि यस वर्षको दसैँ पहिलेको जस्तो रमाइलो लागेको छैन । वर्षौंसम्म छुट्टिएका साथीभाइसँग भेट हुँदा खुसी लागे पनि चाडपर्वसँग जोडिएका परम्परा र मौलिक संस्कृति संरक्षणमा चासो घट्दै गएको उनको अनुभव छ ।
आलिताल गाउँपालिका–४ का जोगराज भट्टका अनुसार पहिले सहरबजारमा हराउँदै गएको पिङ राख्ने चलन अहिले गाउँघरमा समेत घट्दै गएको छ । पिङ बनाउने भनेपछि टोलछिमेकका सबै मानिस जम्मा हुने र दसैँमा भेटघाटको अवसर मिल्ने गरेको उनी सम्झन्छन् ।
“पिङ राख्ने ठाउँमा वर्षौंसम्म नभेटिएका साथीहरू पनि दसैँमा भेला हुन्थे । बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो । अहिले पिङ मात्रै हराएको छैन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थालेको छ”, भट्टले भने ।
बजार क्षेत्रमा सार्वजनिक स्थानको अभाव, मनोरञ्जनका नयाँ विकल्प र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि परम्परागत पिङप्रतिको आकर्षण घटाएको स्थानीयको भनाइ छ । पहिले टोलटोलमा पिङ राखिने गरेकामा अहिले सिङ्गो गाउँमा समेत पिङ भेट्टाउन मुस्किल हुन थालेको अमरगढी नगरपालिका–३ की गीताञ्जली साउद बताउँछिन् ।
अजयमेरु गाउँपालिका–३ का ८५ वर्षीय पदम एडीका अनुसार पहिले दसैँ आउनुभन्दा एक साताअघिदेखि नै पिङ बनाउने तयारी सुरु हुन्थ्यो । पिङका लागि लिङ्गा खोज्ने, बाँस काट्ने र बजारमा पाइने लट्ठा नपाए बाबियोबाट डोरी बाट्ने काममा गाउँलेहरू जुट्थे । अहिले भने पिङ बनाउने परम्परा नै ओझेलमा परेको उनको अनुभव छ ।
परम्परागत रूपमा चार दिशामा बाँस गाडेर लिङ्गेपिङ बनाइन्थ्यो । बाबियोबाट बनाइएका बलिया डोरी प्रयोग गरेर तयार पारिने पिङको माथिल्लो भागमा सयपत्री र लालुपाते फूल राखेर सजाउने चलन थियो । फूलले सिँगारिएको पिङ बेहुलीजस्तै आकर्षक देखिन्थ्यो । बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेल्न उत्साहित हुने भए पनि युवाहरूको सहभागिता विशेष हुने गर्थ्यो ।
अहिले केही ठाउँमा फाट्टफुट्ट पिङ राख्ने गरिए पनि विगतको तुलनामा यसको सङ्ख्या निकै घटेको छ । प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम फेरिएका छन् । फेसबुक, इन्स्टाग्राम र टिकटकमा समय बिताउने प्रवृत्ति बढ्दा सामूहिक रूपमा पिङ बनाउने र खेल्ने परम्परा कमजोर बन्दै गएको स्थानीयको बुझाइ छ ।
दसैँको टीकाका दिन कम्तीमा एकपटक पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास अझै गाउँघरमा प्रचलित छ । तर, यस्तो परम्परालाई निरन्तरता दिन आवश्यक चासो र सहभागिता घट्दै गएको छ ।
अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता पर्वसँग जोडिएका मौलिक परम्परा हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालमा मानिसहरूको व्यस्तता बढ्दै जाँदा परम्परागत संस्कृतिप्रति चासो कम भएको उनको भनाइ छ ।
दसैँ केवल टीका, जमरा र खानपानमा सीमित नभई भेटघाट, सामूहिक सहभागिता र सांस्कृतिक परम्पराको उत्सव पनि हो । त्यसैले पिङ खेल्ने चलनजस्ता मौलिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्त्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।