काठमाडौं। ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तकका लेखक वीणा जोशी (राजभण्डारी) लाई २०८२ सालको मदन पुरस्कार प्रदान गरिएको छ। यस्तै, गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको छ।
विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किएकी नृत्य कलाविद् जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तकमा काठमाडौं उपत्यकाका लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डोनाच (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास समेटिएको छ।
१४ सय पृष्ठ लामो र १७ खण्डमा विभाजित पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो। यसमा नेवार समुदायका परम्परागत मुकुण्डोनाचको इतिहास, सांस्कृतिक महत्त्व र परम्परासम्बन्धी सामग्री समावेश छन्।
त्यस्तै, छ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनमा सक्रिय खरेललाई नेपाली भाषा, साहित्य र वाङ्मयको श्रीवृद्धिमा पुर्याएको योगदानका लागि जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको हो।