काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधारका लागि परिमार्जित कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताएका छन्।
राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनको तयारीअन्तर्गत लगानी र विकासका लागि कानुन सुधारसम्बन्धी तीनदिने परामर्श कार्यशालालाई सम्बोधन गर्दै ढकालले आर्थिक सुधारका सुझाव कार्यान्वयन गर्न सके स्वदेशी तथा विदेशी लगानी बढ्नुका साथै रोजगारी र राजस्व सिर्जनामा समेत सहयोग पुग्ने धारणा राखे।
महासंघको अध्यक्ष रहँदा आफूहरूले लगानी प्रवर्द्धनसम्बन्धी पुराना कानुन सुधारका लागि उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र गठनको प्रस्ताव गरेको स्मरण गर्दै उनले त्यसैको निरन्तरताका रूपमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको जानकारी दिए। आफू उक्त आयोगमा निजी क्षेत्रको प्रतिनिधिका रूपमा सदस्य रहेको उल्लेख गर्दै उनले नयाँ कानुन बने पनि कतिपयको कार्यान्वयन प्रभावकारी हुन नसकेको जनाए।
सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक सयबुँदे निर्णयमध्ये अधिकांश निजी क्षेत्रका सुझावका आधारमा अघि बढाइए पनि धेरै निर्णय अझै कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ।
‘कानुनको स्पिरिट र मन्त्री, सम्माननीय प्रधानमन्त्री र आम पब्लिकको स्पिरिटअनुसार इम्प्लिमेन्टेसन भइरहेको छैन,’ उनले भने।
ढकालले आवश्यक कानुनी सुधार अध्यादेशमार्फत भए पनि जतिसक्दो छिटो अघि बढाउन सरकारसँग आग्रह गरे। नेपालमा लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।
स्वदेशी लगानीकर्ताले गर्ने लगानी र उनीहरूले दिने सन्देशले विदेशी लगानीकर्तालाई समेत प्रभावित गर्ने उनको बुझाइ छ। विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुअघि यहाँका लगानीकर्ताको गतिविधि र उनीहरूले दिइरहेको सन्देश हेर्ने उल्लेख गर्दै ढकालले अब कानुन सुधारसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।