काठमाडौं। विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएका उजुरीकर्ता नै सम्पर्कमा नआएपछि संसदीय सुनुवाइ विशेष समितिलाई सुनुवाइ प्रक्रिया अघि बढाउन चुनौती भएको छ।
प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल गर्न बोलाइएको बैठकमा अधिकांश उजुरीकर्ता अनुपस्थित भएपछि समितिले अबको प्रक्रिया अघि बढाउने विषयमा छलफल गरेको हो। १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध चार जनाले सातवटा उजुरी दिएका छन्।
समिति सभापति वोधनारायण श्रेष्ठका अनुसार जापानका लागि प्रस्तावित राजदूत ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिनेहरू सम्पर्कविहीन छन्। पटक–पटक प्रयास गर्दा पनि उनीहरू सम्पर्कमा नआएपछि समितिले यस विषयमा चासो व्यक्त गरेको छ।
भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिने दीपा भण्डारीले भने इमेलमार्फत आफू उपस्थित हुन नसक्ने जानकारी गराउँदै आफ्नो उजुरी समितिमा पढेर सुनाउन आग्रह गरेकी छन्।
बैठकमा सार्वजनिक सूचना प्रकाशनको समयसीमाबारे पनि छलफल भएको थियो। कानुनी व्यवस्थाअनुसार बिदापछिको दिनलाई समय गणना गर्दा प्रभावकारी समय कम हुने विषय उठेपछि समितिले आगामी कात्तिक ९ गते सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।
सभापति श्रेष्ठले नागरिकलाई जानकारी गराउन र थप उजुरी संकलन गर्न सरकारी सञ्चारमाध्यम तथा संसद् सचिवालयको वेबसाइटमा सूचना प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिएका छन्।