काठमाडौँ । जिम्बावेले टी-२० विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट लय कायम राख्दै बिहीबार श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।
कोलम्बोमा भएको खेल जितेपछि जिम्बावे समूह विजेता पनि बनेको छ र अब आत्मविश्वासी भएर सुपर एट चरणमा प्रवेश गर्नेछ । अपराजित रहने क्रममा जिम्बावेले ७ अंक बटुल्न सफल रह्यो । सह-आयोजक देश श्रीलंका भने ६ अंकमै सीमित रह्यो ।
जिम्बावेलाई जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । यस्तोमा जितका लागि १ सय ७९ रन पछ्याएको जिम्बावेले ४ विकेट मात्र गुमाएर १९.३ ओभरमा १ सय ८२ रन बनायो । त्यसमा ब्रायन बेनेटले निर्णायक भूमिका खेले । उनले ४८ बलमा ६३ रन बनाएर नटआउट पनि रहे । उनको ब्याटबाट ८ चौका निस्केको थियो । कप्तान सिकन्दर राजाले पनि २६ बलमा ४५ रन बनाएर महत्त्वपूर्ण योगदान दिए । यस्तै तडिवान्से मारुमनीले ३४ र रायन बर्लले २३ रन बनाए ।
यसअघि श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठुलो योगदान पथुमा निसान्काको रह्यो । उनले ४१ बल मात्र उपयोग गरेर ६२ रन जोडे ।
ओपनरको भूमिकामा उनले ८ चौका प्रहार गरे । त्यसपछि पभन रथनायेकेले २५ बलमा ४४ रन थपे र त्यसमा ३ चौका तथा २ छक्का सामेल थियो । श्रीलंकाकाले आक्रामक सुरु गरे पनि त्यसलाई पछिसम्म कायम राख्न भने सकेन ।