काठमाडौँ- राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।
राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराएका छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गरेको हो । माघ २९ गते जारी गरिएको पत्रानुसार सम्वत २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ ।
सभाको बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउँदै १९औँ अधिवेशन शुक्रबार रातिबाट अन्त्य भएको घोषणा गरेका छन्।