काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश जबरजस्ती निर्वाचनमा होमिन थालेको उनको आरोप छ ।
‘अहिले जबरजस्त मुलुक चुनावतर्फ होमिएको छ । यस्तो बेला हामी राप्रपाका नेता कार्यकर्ताको जिम्मेवारी छ, यो चुनावलाई हामीले आन्दोलनको रूपमा उपयोग गर्नुपर्नेछ, आन्दोलनको एउटा हिस्साको रूपमा हामीले प्रयोग गर्नुपर्ने छ,’ उनले भने ।
साथै, उनले फागुन २१ को चुनाव कुनै समाधान नभएको बताए ।
‘मैले सबैसँग आग्रह गर्न चाहन्छु, हामीले यो सरकारलाई सबै राजनीतिक शक्तिहरूलाई निरन्तर रूपमा आग्रह गर्यौँ, आगामी फागुन २१ गतेको चुनाव समस्याको समाधान होइन । अस्ति जुन विद्रोह भयो, त्यो विद्रोह मध्यावधि चुनाव वा ०८४ को चुनावलाई ०८२ मा गर्नका लागि भएको होइन,’ लिङ्देनले भने ।
राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट निर्णय गरेर देशलाई निकास दिनुपर्ने बताए ।
‘हामीले लामो समयदेखि उठाइरहेका विभिन्न विषयलाई सम्बोधन नगरी देशलाई स्थायी शान्ति दिन सकिँदैन । राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट, सर्वपक्षीय सहमति निर्माण गरेर, देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर हामीले भन्दै आयौँ,’ लिङ्देनले भने ।