काठमाडौं । नेकपा एमालेको मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुने ११औँ महाधिवेशनमा गोरखा क्षेत्र–२ बाट प्रेमबहादुर गुरुङ केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन्।
गोरखा सिरानचोक–७ निवासी गुरुङ अनुभवी, समर्पित र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित छन्। साधारण गाउँ परिवारमा जन्मिएका उनले २०४२ सालमै विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा सक्रिय रहँदै उनले संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
२०४९ सालदेखि नेकपा एमालेमा पूर्णकालीन कार्यकर्ता बनेका गुरुङले गण्डकी अञ्चललाई मुख्य कार्यक्षेत्र बनाएर पार्टी संगठन विस्तारमा निरन्तर योगदान दिँदै आएका छन्। माओवादी द्वन्द्वकालमा राज्य पक्षबाट पक्राउ परेर शारीरिक तथा मानसिक यातना भोगेका उनले माओवादी पक्षबाट पनि विभिन्न दबाब र कठिनाइ सहनुपरेको थियो। जेल जीवनसमेत भोगेका गुरुङ ती सबै चुनौतीका बीच पनि पार्टी संगठनप्रति प्रतिबद्ध रहँदै सक्रिय रहे।
महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएमा जिल्लामा पार्टीको वैचारिक मजबुती र संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
यसैबीच, एमालेको ११औँ महाधिवेशनका लागि गोरखाबाट नौ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। मंसिर २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनमा ती प्रतिनिधिहरूले गोरखाको प्रतिनिधित्व गर्नेछन्।