जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले लकडाउन, कर्फ्यु र निषेधाज्ञा के लगाउने भन्ने विषयमा छलफल भएको र निषेधाज्ञा जारी गर्ने कुरामा सबै एक भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।
कोरोना भाइरसको सङ्क्रमण रोक्न आवत जावत र परीक्षणको दायरा बढाउँदै लैजाने निर्णय भएको छ । स्थानीय प्रशासन र पालिकाले आमनागरिकलाई सहयोग गर्नका लागि अपिलसमेत गरेको छ ।
वीरगञ्जमा बिहीबार र शुक्रबार गरी कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । ७५ जना सङ्क्रमितको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई आईसीयूमा राखेर उपचार भइरहेको समाचारमा बताइएको छ ।