कर्णालीको प्रदेश सभाका सांसदमा कोरोना संक्रमण देखिएको छ।
आइतवार ती प्रदेश सांसदसहित अन्य ३ जनाको स्वाब प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा कोरोना पुष्टि भएको हो ।
उनी अहिले वीरेन्द्रनगरमा रहेको कोठामा सेल्फ आइसोलेसनमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन्। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले बताए। उनका अनुसार प्रदेश सभामा ती सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन गरिने भएको छ।
हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। सांसदमा नै कोरोना पुष्टि भएपछि संसद बैठकबारे पनि सोच्नुपर्ने अवस्था आएको सभामुख शाहीले बताए।
कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जुम्ला जिल्ला प्रशासन कार्यालयले आज ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन रुपमा निषेधाज्ञा जारी गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट चन्दननाथ नगरपालिका वडा नं. ५ को मूल बजार क्षेत्रको व्यवसायीलाई कोरोना भाइरसको संक्रमण देखिएकाले सोबाट स्थानिय स्तरसम्म फैलिन सक्ने भएकाले निषेधाज्ञा जारी गरेको बताइएको छ ।