हेटौंडा । आफै लुकिछिपी बसेर अपहरणको नाटक गर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ ३ गते बिहानदेखि बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा खोजतलासको लागि श्रीमतीले निवेदन दिएका व्यक्ति आफै लुकेर अपहरणको नाटक गरेको खुलेको हो ।
आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । अपहरणको नाटक गरेर लुकिछिपी बस्ने राक्सीराङ गाँउपालिका-५ बस्ने बर्ष ४६ को कुमार प्रजा रहेका छन् ।
स्थानीय निर्मल भन्ने सानु बाबु रुम्बा र कुमार प्रजाबीचमा आर्थिक लेनदेन रहेको र दुवै जना बीच बादबिवाद भएको थियो ।
बादविवाद पश्चात कुमार प्रजाकी श्रीमती आईती माया चेपाङ्गले रुम्बाले आफ्नो श्रीमानलाई बेपत्ता पारी अपहरण समेत गरेको हुन सक्ने भएकोले खोजतलास गरी पत्ता लगाई आवश्यक कारबाही गरी पाउँ भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् ।
प्रहरीले अनुसन्धानको क्रममा अपहरणमा परेका भनिएका कुमार प्रजाको नियमित रुपमा परिवारका सदस्यहरूसँग टेलिफोन सम्पर्क भइरहेको खुल्यो ।
उनी मनहरी गाउँपालिका-४ नयाँबस्तीमा सुर्य बहादुर प्रजाको घरमा पुगेर आफै लुकीछिपी बसेको अनुसन्धानको क्रममा खुलेपछि आज बिहान ५:०० बजे उनलाई प्रहरीले भेटेको हो ।
लुकिछिपी बसेको घर नजिकै रहेको अनुग्रह चर्चमा फेला परेका प्रजालाई प्रहरीले सोधपुछ गर्ने क्रममा उनले प्रहरीसँग अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर थप अनुसन्धान भइरहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।