काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको आज हुने भनिएको मुद्दाको अन्तिम सुनुवाई स्थगित भएको छ ।
यसअगाडि पुर्पक्षको लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेशी चढेपछि सन्दीपका कानुन व्यवसायीले स्थगित गरेकोमा आज ईजलासबाट नभ्याएको हुनाले स्थागित भएको हो ।
काठमाडौं जिल्ला अदालतमा आजसहित सन्दीप लामिछानेको जबरजस्ती करणी मुद्दाको पेशी लगातार छैटौं पटक स्थगित भएको हो । माघ ९ गतेदेखि स्थगित भएको पेशी अहिलसम्म गरेर छैंटौ पटक स्थगित भएको काठमाडौं जिल्ला अदालतको वेवसाइटमा उल्लेख छ ।
गत ५ भदौमा राति सिनामंगलस्थित एक होटेलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
जाहेरी पर्दा पूर्वनिर्धारित कार्यक्रमअनुसार क्यारेवियन प्रिमियर लिग खेल्नको लागि वेस्ट इन्डिज पुगेका लामिछनाले त्यसको एक महिनापछि अमेरिकाबाट कतार हुँदै नेपाल आएका थिए ।
काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।
त्यस्तै फागुन १५ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर प्रतियोगितामा भाग लिन कुनै अवरोध नगर्नु भन्ने आदेश दियो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले उच्च अदालतको सर्तसहितको धरौटीमा छाड्ने आदेशको प्रकरण २१ को ‘क’ बदर गर्दै अन्य विषय सदर गरेको थियो ।
सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’ बाट टुङ्ग्याउन आदेश दिएको भएतापनि विभिन्न कारणले उनको मुद्दाको अन्तिम पेसी अघि बढ्न सकेको छैन ।