काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) सहित ६ दलले एमालेका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारलाई दिएका समर्थन फिर्ता लिएलगत्तै चौधरीले दाबी पेश गरेका हुन् ।
आज बिहान मात्रै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेका हुन्।
चौधरीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सासंद खड्क बस्नेतले समर्थन गर्ने भएका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका नौ, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार जना, जसपा जनमत पार्टी, लोसपा र स्वतन्त्र तीन/ तीन जना, नेकपा एस र राष्ट्रिय जनमोर्चाका एक/एक जना सासंद छन् ।
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपाति निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
---|---|---|---|
नेकपा (एमाले) | १८ | ११ | २९ |
नेपाली कांग्रेस | १७ | १० | २७ |
नेकपा (माओवादी केन्द्र) | ५ | ४ | ९ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | २ | २ | ४ |
जनता समाजवादी पार्टी | २ | १ | ३ |
लोकतान्त्रिक समाजवादी पार्टी | २ | १ | ३ |
नागरिक उन्मुक्ति पार्टी | २ | २ | ४ |
नेकपा (एकीकृत समाजवादी पार्टी) | — | १ | १ |
जनमत पार्टी | १ | २ | ३ |
राष्ट्रिय जनमोर्चा | — | १ | १ |
स्वतन्त्र | ३ | ३ | |
जम्मा संख्या | ५२ | ३५ | ८७ |
बहुमतको लागि आवश्यक पर्ने ४४ सासंदको आवश्यकता पर्नेमा ४९ सासंदले उनलाई समर्थन गर्ने भएका छन् ।