मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसँग जोड्नुपर्ने बताएका छन्।
प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।उनले भने, “बनको संरक्षण र सदुपयोग गरी हेटौँडा वरिपरिका सम्भावित क्षेत्रमा मरिच खेती र नदी किनाराका भिराला पाखामा चिउरी, केरा, आँप, कटहर, भुँइकटहर, लिची, एभोकार्डोजस्ता फलफूल लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।” उनले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने वातावरण निर्माण गरी कृषि क्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न सुझाव दिए।
किसानले उत्पादन गरेको फसलको बजार सुनिश्चित गर्ने, उन्नत किसिमका मल, बीउबिजन र प्रविधि उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । प्रदेश सरकारले किसानमैत्री नीति तर्जुमा गरी बिक्री नभएर सडकमा आफ्ना उत्पादन फ्याँक्नुपर्ने कहालीलाग्दो अवस्थाबाट मुक्त भई निर्धक्कतापूर्वक कृषकले सके जति उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गरिदिनुपर्ने उनले उल्लेख गरे । बजेट निर्माण र विनियोजन प्रणालीमा हिजो र आजमा तात्विक अन्तर नभएको गुनासो गर्दै उनले भने, “हामीले बजेट विनियोजन गर्दा जलविद्युत् आयोजना, नमूना कृषि फार्म, प्राविधिक शिक्षालय र उद्योगको स्थापना गर्नेतर्फ लक्षित गर्न सक्यौँ भने मात्र रोजगारीका अवसर सिर्जना हुनेछन् ।”
प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन नदिन सुझाव दिँदै प्रदेश प्रमुख शर्माले जनताको आशा एवं विश्वासलाई व्यवहारमा मूर्तरुप दिन जनमुखी सरकारको अवधारणाअनुरुप प्रदेश सरकारका नीति, कार्यक्रम, बजेटलगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक रहेको बताए। उनले बागमती प्रदेशसभाको पहिलो कार्यकालमा मूल विधेयकका साथै, संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयकसमेत गरी ७० विधेयक पारित भएकोमा प्रसन्नता व्यक्त गरे।
उनले प्रदेशसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याउन, कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध गराउन आवश्यक पर्ने जनमुखी कानुन निर्माण गरी प्रदेशसभाको सान्दर्भिकतालाई पुष्टि गर्नेमा आफू विश्वस्त रहेको बताए। प्रदेश प्रमुख शर्माले अब सिङ्गो प्रदेशले अग्रगतिका योजना तर्जुमा गर्न तथा समाज र समयको उद्बोधनलाई मनन गर्दै आवश्यक नीति, नियम र कानूनको निर्माण एवं परिपालना गर्न आवश्यक छ भने । उनले छुवाछूत, महिला हिंसा, मानव बेचबिखन र लागुऔषध ओसारपसारजस्ता विकृति विसङ्गतिको अन्त्य गर्न दृढ सङ्कल्पका साथ राष्ट्रप्रति जिम्मेवार रही जनताको पक्षमा अविस्मरणीय काम गर्न प्रदेशसभा सफल र सक्षम रहोस् भने।
प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रमुख शर्माले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेकोमा सर्वसम्मतिले धन्यवाद प्रस्ताव पारित गरेको छ । सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश प्रमुख शर्माले सम्बोधन गरेको प्रति टेबुल गरेका थिए। बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए।