बलात्कार मुद्दामा धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछाने सामाजिक सञ्जालमा फर्किएका छन् ।
लामिछाने आज आफ्नो तस्बिरसहित ट्वीट गर्दै लेखेका छन् “ग्रेटफूल फर इभ्री सेकेन्ड, फर इट इज अलवेज द् डार्कनेस, विफोर द् लाइट कम्स” अर्थात प्रकाश आउनुअघि सँधै अध्याँरो हुन्छ त्यसको प्रत्येक सेकेण्डको लागि कृतज्ञ छु ।
यसअगाडि उनले सेप्टेम्बर ९, २०२२ गते आफू निर्दोश रहेको भन्दै ट्विटरमा स्ट्याटस राखेका थिए । तर फेसबुकमा भने उनले अक्टोबर १, २०२२ मा एक पोष्ट लेख्दै आफू नेपाल फर्किन लागेको जानकारी दिएका छन् ।
भदौ ५ गते एक नाबालिकालाई काठमाडौंको पिंगलास्थानमा रहेको होटलमा पटक पटक करणी गरेको भन्दै उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।
उजुरी पर्दा पूर्वनिर्धारित कार्यक्रमअनुसार क्यारेवियन प्रिमियर लिंग खेल्नको लागि वेस्ट इन्डिज पुगेका थिए ।
जाहेरी परेको एक महिनापछि अमेरिकाबाट नेपाल फर्केका लामिछानेलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर गौशालाको न्यायिक हिरासतमा राखेको थियो
जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद घिमिरेले कात्तिक १८ गते सो मुद्दामा लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएका थिए ।
तर उच्च अदालतले पुष २८ गते नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटी राखेर विभिन्न शर्तसहित रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशसँगै लामिछाने पुष २९ गते शुक्रबार धरौटी बुझाएर रिहा भएका थिए ।