तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।
विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । “दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो”, उनले भने, “त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । तर अहिले तीव्ररुपमा काम अगाडि बढेको छ ।”
शर्माका अनुसार यतिबेला केबलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताउनुभयो । “ विसं २०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउँछ, केबलकारको टावर जडान सुरु भएको छ l”
बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच तारे होटलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।
केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्याइएको छ ।
लिमिटेडले बन्दीपुर केबलकारको आइपिओ खुलाउने तयारी गरेको छ । सर्वसाधारणका लागि एक सय कित्ता बराबरको आइपिओ खुला गरिनेछ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।
आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।