कोभिड–१९ ले विश्वलाई आक्रान्त पार्न थालेपछि नेपाल लगायत धेरै देशले भाइरसको सङ्क्रमणलाई रोक्न लकडाउन घोषणा गरेका थिए ।
लकडाउन जस्तो कडा उपायले व्यक्तिको आम्दानी घटाउने, खाद्य आपूर्तिमा अवरोध ल्याउने र स्वास्थ्य सेवाको पहुँचमा असर पुर्याउने काम गरेको थियो जसले गर्दा खाद्य र पोषणको गम्भीर संकट सिर्जना गरेको थियो ।
कम ज्याला पाएका कारण ग्रामीण घरपरिवारमा बस्ने, विशेषगरी सबैभन्दा कमजोर वृद्धवृद्धा र बालबालिकाहरूसँग पर्याप्त खानाको उपलब्धता नभएको कारणले दीर्घकालीन स्वास्थ्य अवस्थालाई जोखिममा पार्नु बाहेक अरु कुनै विकल्प बाँकी थिएन ।
नेपाल चरम गरीबी, गम्भीर कुपोषण र संक्रमणको चपेटामा रहि आएको छ । नेपालले पहिलादेखिनै खाद्य र पोषण असुरक्षाका साथै दोहोरो (Double burden) र कुपोषणको कारण तेहोरो बोझ (Triple burden) सामना गर्दै आएको छ ।
गरीबी, भोकमरी र कुपोषणले सक्रिय क्षयरोग (Active TB) को सम्भावना र रोगको गम्भीरता पनि बढाउँछ। नेपालमा अझै पनि एक चौथाइ जनसंख्या गरीबीको रेखामुनि रहेका छन्, जसले गर्दा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन (उमेर अनुसार उचाई नहुनु), न्यून वजन (उमेर अनुसार को वजन नहुनु) र ख्याउटेपन (उचाई अनुसार वजन नहुनु) जस्ता कुपोषित अवस्था भएको पाईन्छ। यस्तो अवस्थामा व्यापक रुपमा संक्रमण गराउन सक्ने क्षयरोग अर्को खतरनाक शत्रु बन्न पुग्छ।
हामीले कोभिड १९ को सामना त गर्यौ तर कुपोषण क्षयरोगको कारण र परिणाम दुवै हुन सक्छ भन्ने तथ्य बिर्सियौं। नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमको प्रतिवेदन २०२० ले नेपालमा १० लाखभन्दा बढी क्षयरोगीहरु बाँचिरहेको देखाएको छ। यो सङ्ख्या पहिले अनुमान गरिएको भन्दा धेरै हो तर महामारीको समयमा धेरै बिरामीहरूको उपचारमा पहुँच नपुगेका कारण यो संख्या बढेको अनुमान गर्न सकिन्छ ।
नेपालमा, विशेष गरी बालबालिकाहरूमा कमजोर पोषण स्थिति र रक्तअल्पताले क्षयरोग हुनुमा महत्वपूर्ण भुमिका खेलेको अध्ययनहरुले देखाएका छन्।
यो किन महत्वपूर्ण छ ?
किनभने कुपोषणले रोगको गम्भीरता बढाउन सक्छ, निको हुनलाई ढिलो गर्न सक्छ, मृत्युको सम्भावना बढाउन सक्छ र बिरामीहरूलाई औषधिबाट गम्भीर साइड इफेक्टहरू भोग्ने सम्भावना बढाउँछ।
कोभिड १९ को प्रकोपले खाद्य असुरक्षालाई बढाएको छ जसले गर्दा प्रवासी र श्रमिक जनसंख्यालाई भोकमरी र कुपोषणको जोखिममा धकेलेको छ। लामो समयसम्मको कुपोषणले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ र सक्रिय क्षयरोगको जोखिम बढाउन सक्छ।
त्यस्तै क्षयरोगले कुपोषण बनाउन भूमिका खेल्छ र बिरामीको तौल घटाउछ। पहिलो, रोगले भोक कम गर्छ। दोस्रो, ज्वरोले क्यालोरी खर्च हुने दर बढाउँछ र अन्तमा, क्षयरोगले प्रोटिन नष्ट गर्ने र मांसपेशी कमजोर बनाउने गर्छ, जसको कारण व्यक्तिको उचाइ अनुसार तौल कम हुदैं जान्छ । कम पोषणले बिरामीहरूलाई उपचार गर्दा र निको भईसकेपछि पनि चुनौती दिन्छ।
कुपोषणले निको हुने दर पनि घटाउछ । पर्याप्त पोषण भएका बिरामीहरूको तुलनामा गम्भीर रूपमा कुपोषित बिरामीहरूको मृत्यु हुने सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ । न्यून पोषणले मांसपेशीलाई कमजोर बनाएका कारणले शारीरिक गतिविधिमा असर गर्नुका साथै रोग पुनः दोहोरिने सम्भावना पनि बढाउँछ।
त्यसोभए के गर्न सकिन्छ ?
कोभिड महामारी अघि नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमले देशमा बहुऔषधी प्रतिरोधी क्षयरोग (डिआरटिबी) का बिरामीहरूलाई सामाजिक सुरक्षा लागतको रूपमा प्रति बिरामी प्रति महिना ३ हजार रुपैंयाको पोषण र यातायात भत्ता उपलब्ध गराएको थियो।
यो कार्यक्रम महामारी पछि पनि जारी रह्यो की रहेन भन्ने कुराको जानकारी छैन किनभने ‘कोभिड १९-क्षयरोग कार्यक्रमको तयारी, प्रतिक्रिया र सिकेको पाठ’ प्रतिवेदनमा यसको निरन्तरताको बारेमा उल्लेख गरिएको छैन।
तर के यो पर्याप्त हुनेछ?
पहिले नै सुस्त अर्थतन्त्रमा जागिर गुमाउँदा बिरामी र परिवारहरू हताश हुन्छन् । बन्दाबन्दी, निरन्तर बसाइँसराइ, अर्थतन्त्रमा हुने अनौपचारिक घाटाका कारण खाद्य सुरक्षा र पोषणको स्तर घट्ने र भोकमरी बढ्ने सम्भावना हुन्छ । यसले व्यक्तिको रोग प्रतिरक्षा प्रणालीमा दीर्घकालीन प्रभाव पार्नेछ र अव्यक्त (ल्याटिन) क्षयरोगीको संख्या बढाउने छ ।
तसर्थ बेरोजगार र आप्रवासीहरू लगायत गरीब कमजोर जनसंख्यालाई लक्षित गरी फराकिलो र व्यापक खाद्य सुरक्षाको व्यवस्थापन गर्न जरुरी छ। क्षयरोगबाट बढी प्रभावित हुने समुदायहरूका लागि पनि खाद्य सुरक्षा सम्बन्धी विशेष कार्यक्रमको आवश्यकता देखिएको छ । मानिसहरूलाई यस्ता क्रियाकलापमा संलग्न गराउन सार्वजनिक कार्यक्रम आयोजना गर्न पनि सञ्चारको भूमिका रहन्छ ।
सबै प्रकारले उपचार भन्दा रोगको रोकथाम गर्नु नै राम्रो उपाय हो। गरिब र जोखिमपूर्ण समूहका जनसंख्यालाई पोषणसम्बन्धी आर्थिक सहयोग सुनिश्चित गर्न जरुरी छ। क्षयरोगको प्रकोप घटाउन प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम र जिम्मेवारी दिन आवश्यक हुन्छ । जसले खोप कार्यक्रम, पोषण सहयोग र हेरचाह जारी राख्न मदत् पुग्ने हुन्छ ।
हामीले तुरुन्तै भोकमरी र क्षयरोगलाई सँगै सम्बोधन गर्न आवश्यक छ। कुनै पनि ढिलाइ जनसंख्या स्वास्थ्यको लागी अपराध सावित हुन सक्छ ।
लेखक पेशाले जनस्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँ क्षयरोगबाट निको हुनुभएको हो ।