झण्डै ५१ किलो हेरोईन सहित सात अफ्रिकन युवतीहरू काठमाडौंबाट पक्राउ परेको केहीदिनमै लागु औषध नियन्त्रण ब्यूरोले थप केही विदेशी नागरिक पक्राउ गरेको छ ।
ब्यूरोले ४.९ किलोग्राम हेरोईन सहित ३ जना विदेशी नागरिक र एक नेपाली नागरिक गरी चार जनालाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा एकजना तान्जानियन नागरिक, दुई भारतीय नागरिक र एक नेपाली नागरिक छन् ।
तान्जानियन नागरिकले साउथ अफ्रिका, दुबई हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याएको उक्त लागुऔषध भारत लैजानको लागि भारतीय नागरिक मुनिम सिंह र बिक्रमजित सिंह काठमाडौं आएका थिए । उनलाई बिरगंजका बिक्की रौनियारले सहयोग गरेको अनुसन्धानमा देखिएको छ ।
प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार पक्राउ परेका तान्जानियन नागरिकले सुटकेसमा फ्लस बटम बनाएर उक्त हेरोईन नेपाल भित्र्याएका हुन् । उनीहरूले सबैलाई बौद्धको एक होटलबाट पक्राउ गरिएको श्रेष्ठले बताए ।