मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग र सो मतदान केन्द्रका मतदान अधिकृतसँग स्पष्टीकरण माग गरेको छ ।
डा भट्टराईले निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
डा भट्टराईले आज बिहान मतदान गर्ने क्रममा गोप्य मतदान गर्ने ठाउँबाट निर्वाचन चिह्नमा छाप लगाएको फोटो खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् ।
निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेको छ । तर भट्टराईले भने मतपत्रमा स्वस्तिक छाप लगाएको फोटोसमेत सार्वजनिक गरेका हुन् ।
मतदान अधिकृतलाई समेत सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण
निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेको मतदान केन्द्रका मतदान अधिकृतलाई समेत स्पष्टीकरण सोधेको छ ।
भट्टराईलाई मतदान गर्दागर्दैका तस्बिर खिच्न दिएको आरोपमा मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधिएको आयोगका एक अधिकारीले बताए ।