नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनका नेताहरू केपी ओली नेतृत्वको सरकारले गरेका कामको जस लिने होडबाजीमा रहेको आरोप लगाएका छन् ।
ललितपुरको महालक्ष्मीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले जनकपुर जयनगर रेलवेदेखि विभिन्न विकास आयोजनाहरू ओली सरकारले गरेको र अहिले उद्घाटनमा प्रधानमन्त्री देउवा व्यस्त रहेको बताए ।
बस्नेतले देवी ज्ञवाली नेतृत्वको भूमि आयोगले सुकुम्बासीलाई जग्गा वितरण गर्न लाग्दा आयोग खारेज गरेको भन्दै ज्ञवालीले तयार पारेका लालपुर्जा प्रचण्डले बाँड्न थालेको बताए ।
बस्नेतले भने, ‘अस्ति भरतपुरतिर प्रचण्डले केही सुकुम्बासीलाई धनीपुर्जा बाँडेको सुनियो । देवी ज्ञवालीले तयार पारेको लालपुर्जा भरतपुरमा गएर रेनुका बाले बाँडेछन् ।’
बस्नेतले ओली सरकारले बनाएका आयोजना उद्घाटन गर्दै सत्ताधारीहरूले जस लिन खोजेको भन्दै गठबन्धनका नेताहरू आफन्त नियुक्तिमा व्यस्त रहेको आरोप लगाए ।
प्रचण्डले स्थानीय तहको निर्वाचनको मुखमा भूमिहिन दलितलाई चैत २३ गते जग्गाधनी पुर्जा वितरण गरेका थिए । उनले भरतपुर महानगरपालिका–२ आँपटारीका ४६ भूमिहिन दलितलाई लालपुर्जा वितरण गरेका हुन् । त्यही कार्यक्रकमा बोल्दै उनले “प्रचण्डको छोरी रेनु भन्ने थियो, अहिले रेनुको बुबा प्रचण्ड भएको छ” भनेका थिए ।
आचारसंहिता लागु भएपछि लालपुर्जा वितरणलगायत मतदातालाई प्रभावित पार्ने कार्य गर्न नपाउने भएकाले हतारमा लालपुर्जा वितरण गर्न प्रचण्ड बुधबार चितवन पुगेका थिए ।
भरतपुर-२ मा मात्र ९८ घरधुरी भूमिहिन दलित छन् । भरतपुर महानगरपालिकामा भूमिहिन दलित एक हजार ९७९, भूमिहिन सुकुमबासी तीन हजार ७८५ र अव्यवस्थित बसोबासी पाँच हजार पाँच गरी जम्मा १० हजार ७७७ सुकुम्बासी सूचिकृत छन् । बाँकी सुकुमबासीले निर्वाचनपछि मात्रै लालपुर्जा पाउने छन् ।