एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
अदालतका वकिल दीपक भट्टराईका अनुसार बुधबार नाबालिगको पक्षबाट तीन जना वकिल र शाहको पक्षबाट नौ जना वकिलले थुनछेक बहस सकाएका थिए । भट्टराई भन्छन्, ‘तनहुँ अदालतले आदेश दिएको थियो । यहाँ पनि त्यही हो । अहिले धरौटीमा वा तारेखमा छुट्ने सम्भावना न्यून हुन्छ ।’ किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।
उनी केही दिनअघि जिल्ला अदालत तनहुँको आदेशमा शाह कारागार चलान भइसकेको छन् । नाबालिगलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गर्दै आएको भन्दै पीडित परिवारले उनीविरुद्ध जिल्ला तनहुँमा जाहेरी दिएका थिए ।
बालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई मंगलबार नवलपुर जिल्ला अदालत लगिएको थियो । उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । गत चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आदेशपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।
सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो ।