उदयपुरमा नौ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । बेलका नगरपालिका–५ घुम्ने लालीगुराँस टोलकी एक बालिका बलात्कृत भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले केटिएम दैनिकलाई दिएको जानकारीअनुसार एक साताअगाडि भएको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
‘घटना एक साताअघि भएको रहेछ, प्रहरीसमक्ष ढिलो आएका कारण कानुुनी प्रक्रिया अगाडि बढ्न पाएको थिएन,’ उनले भने, ‘अहिले आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय गणेश खत्री रहेका छन् । खत्री पीडित बालिकाकी छिमेकी हुन् । उनले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि जिल्ला अदालत उदयपुरबाट अनुसन्धानका लागि सात दिन म्याद थपिएको डिएसपी गौतमले जानकारी दिए ।
पीडककी पत्नीले थाहा पाएपछि घटना सार्वजनिक
घटनाका बारेमा स्थानीय बालबालिकाले खत्रीकी पत्नीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । बेलका नगरपालिका– ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काका का अनुसार खत्रीले ती बालिकालाई यसअघि पनि पटक-पटक बलात्कार गरेकाे खुलेको छ ।
पछिल्लोपटक भने स्थानीय बालबालिकाले घटनाबारे पीडककी पत्नी र पीडितको घरमा जानकारी गराएका थिए । त्यसपछि पीडित बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय रामपुर, ठोक्सिलामा जाहेरी दिएका थिए । जाहेरीलगत्तै उनी पक्राउ परेका हुन् ।
यता, पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।