
काठमाडौँ- राष्ट्रिय सभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सर्वसम्मतिले पारित गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो ।
छलफलमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले सो विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राखेका थिए ।
सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जलस्रोतको उपयोग, व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताए । उनले संविधानमा नै समावेशीताको प्रबन्ध भएकाले विधेयकमा दलितलगायतका विषय उल्लेख गर्नु नपर्ने सबै सदस्यको धारणा रहेकाले सोही अनुसार गरिएको बताए । विधेयकमा उल्लेख भएको बाँधको सुरक्षाको विषयलाई थप प्रस्ट पारिएको उनले बताए ।
यस्तै, यही साउन ५ गते ८५ वर्षको उमेरमा निधन भएका प्रतिनिधि सभाका पूर्व सदस्य खगराज शर्माको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २७ गते मंगलवार दिउँसो १ः१५ बजे बस्नेछ ।