सुनसरीको बर्जु नगरपालिकामा जारी बर्जु महोत्सवमा भनेको कलाकार नआएपछि आक्रोशित भएका स्थानीयले आगजनी र तोडफोड गरेका छन् । बर्जु गाउँपालिका–६ स्थित चिमडीमा जारी बर्जु महोत्सवमा स्थानीयहरूले आगजनी र तोडफोट गर्दा चारवटा स्कारपियो जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
विराटनगरदेखि करिब १४ किलोमिटर पश्चिम पर्ने बर्जु गाउँपालिकामा २४ पुसदेखि बर्जु महोत्सव सञ्चालन भइइरहेको थियो । मङ्गलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादव आउने तय थियो । यादव आउने भनेर टिकट ५०० र ३०० ले काटिएको थियो ।
तर उक्त महोत्सवमा खेसारिलाल यादव नआएकोले आक्रोशित स्थानीयले कार्यक्रम स्टेज, चारवटा स्कापियो गाडी र केही थान मोटरसाइकलमा आगजनी गरेका हुन् । समयमा दमकल नआएकोले ठुलो धनजनको क्षति भएको महोत्सव हेर्न पुगेका गणेशकुमार साहले जानकारी दिए ।
यता, सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार स्थानीयले भारतीय नम्बर प्लेटका चारवटा स्कोरपियो र मोटरसाइकमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीहरूसमेत तोडफोड गरेका छन् । सो समूहले लाखौँ मूल्य बराबरको साउन्ड सिस्टम र लाइट तोडफोड गरेको छ ।
स्थानीयको तोडफोडबाट ठुलो जनधनको क्षति भएको बताइएको छ । घटनास्थलमा हाल अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी सुनसरीबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।आगजनीमा उत्रिएको भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले बल पनि प्रयोग गरेको थियो ।
प्रहरीले विराटनगरमै रोकेको थियो खेसारीलाललाई
यता, स्थानीय प्रशासनको निर्देशनविपरीत महोत्सव चलाएपछि प्रहरीले खेसारीलाललाई विराटनगरमै रोकेको थियो । मेलास्थलमा ठुलो भिड जम्मा भएपछि प्रशासनले उनलाई बाटोमै रोकेको हो । दिउँसो १२ बजे आउने भनिएका कलाकार नआएपछि आक्रोशित बनेको भिडले चारवटा स्करपियोमा आगजनी गर्दे स्टेज तोडफोड गरेको हो ।
कलाकार यादव विराटनगरको होटल एसियाटिकमा बसेका थिए । उनलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान दिएको थिएन । त्यसअघि नै स्थानीय प्रशासनले महोत्सव स्थगित गर्न निर्देशन दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले महोत्सव रोक्न मानेन ।
महोत्सवमा अत्यधिक भिड देखिएपछि स्थानीय प्रशासनले खेसरीलाललाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेको थियो ।