सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको बर्जु महोत्सव तोडफोड र आगजनी प्रकरणमा आयोजक समितिलाई आपत् परेको छ । छानबिन समितिले आयोजक समितिले नै क्षतिपूर्ति बेहोर्नुपर्ने निष्कर्ष निकालेपछि आयोजक समितिका ६ जनाले आफ्नो घरजग्गा धरौटीमा राखेर क्षतिपूर्ति बेहोरेका छन् ।
आयोेजक बर्जु सामुदायिक विकास केन्द्र कार्यक्रम आयोजक कमिटीका अध्यक्ष श्रवणकुमार चौधरीका अनुसार आयोजक समितिका ६ जनाले करिब ५८ लाख क्षतिपूर्ति बेहोरेको हो । टिकट बेचेको १२ लाख जति आक्रोशित भिडले लुटेर लगेपछि घरजग्गा धरौटीमा राखेर तथा ऋण लिएर क्षतिपूर्ति तिर्नु परेको चौधरीको भनाइ छ ।
‘एक जनाको भागमा नौ लाख ६६ हजार पर्दो रहेछ,’ चौधरीले केटिएम दैनिकसँग भने, ‘प्रशासनबाट सहयोग रकम पाएनौँ । धेरैतिर गुहार माग्यौँ । गाउँपालिकामा आर्थिक सहयोग नगर्नू भनेर पत्र परेको रहेछ । यसैले पनि घरजग्गा धरौटीमा राखेर र किस्ताबाट रकम निकालेर तिरेका छौँ ।’
आयोजक समितिका अध्यक्ष श्रवणकुमार चौधरी, उपाध्यक्ष सञ्जीवकुमार चौधरी, धीरजकुमार चौधरी, हरिनारायण चौधरी, नथ्थु चौधरी र अन्तुराम चौधरीले कलाकार, साउन्ड सिस्टम र टेन्ट हाउसलाई ५८ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका हुन् । उनीहरूले भोजपुरी कलाकार खेसरीलाल यादवलाई ३६ लाख रुपैयाँ तिरेका छन् । अघिल्लोपटक बुझाएको १८ लाखमै जोडेर ३६ लाख रुपैयाँ क्षतिपूर्ति बुझाएको अध्यक्ष चौधरीले जानकारी दिए ।
खेसरीलालसँग आएको कलाकार टिमको चारवटा स्कारपियो जलेको थियो । त्यसमध्ये तीनवटा सामान्य भएपनि एउटा महँगोे गाडी जलेको बताउँदै कलाकारको टिमले गाडीको डेढ करोड र गाडीसँगै जलेको बाजाको ३५ लाख गरेर एक करोड ८५ लाख रुपैयाँ माग दाबी गरेको थियो भने साउन्डसिस्टमवालाले एक करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै आयोजकसँग मागको थियो ।
तर आयोजक समितिले खेसरीलाललाई ३६ लाख, उनीसँग आएका कलाकारलाई पाँच लाख, साउन्ड सिस्टमलाई १५ लाख, कुर्सी र टेन्टवालालाई डेढ लाख रुपैयाँ दिएको हो । कुर्सी र टेन्टवालालाई ६ लाख रुपैयाँ दिनुपर्नेमध्ये डेढ लाख दिइएको अध्यक्ष चौधरीको भनाइ छ । उनका अनुसार टिकटको अर्धकट्टी बोकेर आएमा उनीहरूले पनि क्षतिपूर्ति पाउने छन् ।
‘हामीले अगाडि नै उहाँलाई आधाजति रकम बुझाइसकेका थियौँ, त्यसमै जोडेर अरू रकम बुझायौँ,’ उनले भने, ‘त्यसबाहेक साउन्ड सिस्टम, कुर्सी र टेन्टवालालाई रकम बुझायौँ । केही रकम बाँकी पछि छ । टिकटको अर्धकट्टी लिएर आउनेले क्षतिपूर्ति पनि पाउने छन् ।’
बर्जु प्रकरणमा छानबिन समितिले भन्यो : महोत्सवमा खेसरीलाललाई ल्याउनु नै गलत
सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको महोत्सव प्रकरणको छानबिन समितिले...
मङ्गलवार, माघ ११ २०७८घटनापछि गृह मन्त्रालयको निर्देशनमा बनेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले माघ १० गते महोत्सव आयोजक र प्रायोजक संस्थालाई घटनामा भरिपरिआएका सबै बेहोर्नुपर्ने निष्कर्ष निकालेको थियो । प्रजिअ इन्द्रदेव यादवका अनुसार आगजनी तथा क्षति पुगेका व्यक्ति–संस्थाप्रति जिम्मेवार भई क्षतिभरणका सम्बन्धमा कानुनी दाबी पुगेका दुई पक्षीय समझदारीबमोजिम लिनेदिने गरी त्यसको अभिलेख बर्जु गाउँपालिकामा राख्ने निष्कर्र्ष निकालेको हो ।
आयोजकले सरकार र प्रशासनको उर्दी लतार्दै महोत्सवको अन्तिम दिन कार्यक्रम गर्न खोज्दा अप्रिय घटना घटेको थियो । आयोजकले खेसरीलाललाई विराटनगर ल्याएर महोत्सवको टिकट बेचेको थियो । तर, खेसरीलाल महोत्सवस्थल नआएको भन्दै आक्रोशित भिडले कलाकारको टिमको चारवटा गाडी जलाएको थियो भने साउन्डसिस्टस र कुर्सी तोडफोड गर्दा करिब चार करोडको क्षति भएको अनुमान गरिएको थियो ।
सो भिडले आयोजकले टिकट काटेर राखेको १२ लाख रकमसमेत लुटपाट गरेको थियो भने भिड नियन्त्रणका लागि आएका सुरक्षाकर्मीमाथि पनि आक्रमण गरेको थियो । सोक्रममा दुई प्रहरी कर्मचारीसमेत घाइते भएका थिए भने इलाका प्रहरी कार्यालय दुहबीको गाडीमा पनि सामान्य क्षति पुगेको थियो ।
खेसरीलालका लागि साढे १८ लाख ४० हजार नेपाली रुपैयाँ खर्चिएका कारण आयोजक समिति दबाबमा थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले कोभिड सङ्क्रमणको दर कम भएको अवस्थामा मात्र सो कार्यक्रम गर्न निर्देशन दिएपनि आयोजकले अटेर गरेको थियो ।
बर्जु प्रकरण : गाडीमा बाजा पनि जल्यो भनेर खेसरीलालले थप ३५ लाख मागे
सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको महोत्सव प्रकरण थप...
आइतबार, माघ ९ २०७८माघ ४ गते हुने बृहत्त् कार्यक्रम रोक्न प्रहरीले मुख्य आकर्षक खेसरीलाललाई महोत्सवस्थल पुग्न दिएन । जसकारण तीन सय दरको टिकट काटेर भुँइमा बसेका र पाँच सय दरका टिकट काटेर कुर्सीमा बसेका दर्शक आगजनी र तोडफोडमा उत्रिएका थिए ।
जसका कारण महोत्सवको अन्तिम दिन मुख्य आकर्षणका रूपमा नेपाल ल्याइएका कलाकार खेसरीलालको टिमका चारवटा स्कारपियो गाडी जलेको थियो । दुईवटा ‘भिआइपी’ गाडीहरू भने खेसरीलाल बसेको विराटनगरस्थित होटल एसिया–टिकमा सुरक्षित रहेका थिए ।