सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको महोत्सव प्रकरण थप पेचिलो बन्दै गएको छ । भारत बिहारका चर्चित कलाकार खेसारीलाल यादव नेतृत्वको कलाकारको टिमले आयोजकसँग चारवटा गाडीसँगै आफूहरूले ल्याएको बाजा पनि जलेको भन्दै थप ३५ लाख मागदाबी गरेपछि सो कान्ड पेचिलो बनेको हो ।
महोत्सवको अन्तिम दिन मुख्य आकर्षणका रूपमा नेपाल ल्याइएका कलाकार खेसरीलालको टिमका चारवटा स्कारपियो गाडी जलेको थियो । दुईवटा ‘भिआइपी’ गाडीहरू भने खेसरीलाल बसेको विराटनगरस्थित होटल एसिया–टिकमा सुरक्षित रहेका थिए ।
उनीसँगै नेपालमा प्रस्तुति दिन आएका कलाकारहरूका पाँचवटा गाडी उनीभन्दा अगाडि कार्यक्रमस्थल पुगेका थिए । तर प्रहरी प्रशासनले खेसरीलाललाई महोत्सवस्थल जान नदिएपछि उनको प्रस्तुति हेर्न तीन सयको टिकट काटेर भुइँमा र पाँच सय रुपैयाँको टिकट काटेर कुर्सीमा बसेर कार्यक्रमस्थलमा कुरिबसेको भिडले आगजनी र तोडफोड गर्दा चारवटा गाडी गाडी जलेका थिए । कार्यक्रमस्थल पुगेकामध्ये एउटा गाडी भने जसोतसो जोगिएको थियो ।
आफ्नो टिमको चारवटा गाडी जलेपछि खेसरीलालले आयोजकसँग डेढ करोडको क्षतिपूर्ति मागेका थिए । क्षतिपूर्तिको विषयमा छलफल गर्ने क्रममा उनले गाडीभित्र रहेको बाजा पनि जलेका कारण थप ३५ लाख रुपैयाँ दिनुपर्ने अडान लिएको आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी दिए । ‘यसअघि उहाँले चारवटा गाडीको डेढ करोड रुपैयाँ भन्नु भएको थियो, अहिले थप ३५ लाख पनि जोड्दै हुनुहुन्छ,’ उनले भने, ‘गाडीमा रहेका बाजाबारे जानकारी लिँदैछौँ । त्यसबाहेक अहिले दुईवटा गाडीको क्षतिपूर्ति दिनेगरी सहमति भएको छ । हामी दोहोरो घाटामा छौँ ।’
सो कान्डमा चार करोड रुपैयाँभन्दा बढीको क्षति भएको आयोजकको अनुमान छ । टिकट बेचेको १२ लाख रकम पनि सो भिडले लुटेर लगेका कारण आफूहरू तिर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ ।
आयोजकले संसार कोभिड–१९ को चपेटामा परिरहेका बेला सरकार र प्रशासनको उर्दी लतार्दै कार्यक्रम गर्न खोजेको थियो । कोभिडकै कारण प्रशासनले कार्यक्रम बिथोल्ने निश्चितताबीच पनि भारतीय कलाकारलाई महँगो पारिश्रमिक खर्चिएर नेपाल ल्याएको थियो ।
भोजपुरी स्टार खेसरीलाल यादवका लागि आयोजकले एक पटक भारु दुई लाख र अर्कोपटक साढे नौ लाख भारु गरेर जम्मा साढे १८ लाख ४० हजार नेपाली रुपैयाँ खर्चिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले कोभिड सङ्क्रमणको दर कम भएको अवस्थामा मात्र सो कार्यक्रम गर्न निर्देशन दिएपनि आयोजकले अटेर गरेको थियो ।
माघ ४ गते हुने बृहत्त् कार्यक्रम रोक्न प्रहरीले मुख्य आकर्षक खेसरीलाललाई महोत्सवस्थल पुग्न दिएन । जसकारण तीन सय दरको टिकट काटेर भुँइमा बसेका र पाँच सय दरका टिकट काटेर कुर्सीमा बसेका दर्शक रिसाए । उनीहरूको रिसले महोत्सवस्थल रणमैदान बनेको थियो । प्रहरीले स्टेज बचाएको दाबी गरिरहँदा साउन्डसिस्टमवालाले एक करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै आयोजकसँग मागिरहेको छ ।