नोबेल मेडिकल कलेजले एमबीबीएसमा अतिरिक्त शुल्क लिए जिल्ला प्रशासन कार्यालय मोरङले कक्षा संचालन गर्न रोक लगाउने भएको छ ।
बिहीबार प्रजिअ काशीराज दाहालको रोहबरमा संयुक्त विद्यार्थी संगठन, पीडित विद्यार्थी, अभिभावक र नोबेल मेडिकल कलेजका प्रतिनिधी सहितको छलफलमा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा अतिरिक्त शुल्क नलिने गरि पुष २५ गतेदेखि कक्षा संचालन गर्ने सहमति भएको छ ।
एमबीबीएस पहिलो वर्ष (१५ औं) ब्याचमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई समेटेर कक्षा संचालन गराउनुपर्ने र केही सिमित विद्यार्थीलाई राखेर कक्षा संचालन गराउन नपाउने सहमति भएको हो ।
कलेजले उक्त सहमति तोडेको अवस्थामा सम्पूर्ण समस्याहरू समाधान नभइन्जेलसम्मको लागि कक्षा संचालन नै रोक्ने निर्णय भएको छलफलमा सहभागी एक विद्यार्थीले केटिएम दैनिकलाई बताए ।
विद्यार्थीहरूबाट ‘इन्टर्नसीप’ को नाममा चर्को शुल्क असुली गरेको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा विद्यार्थीहरूले बुधबार तालाबन्दी गरेका थिए ।
यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अनुगमन थालेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका बेला बिहीबार मन्त्री पौडेलले भक्तपुरको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर समस्याबारे जानकारी लिएका हुन् ।
गृह मन्त्रालयले अतिरिक्त शुल्क माग्ने कलेजलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले कारबाहीको निर्देशन दिएपनि कलेज सञ्चालकको राजनीतिक पहुँचका आधारमा प्रजिअले कारबाही प्रक्रिया अघि बढाउन नसकेको विद्यार्थी र अभिभावकको गुनासो छ ।