विद्यार्थीहरूबाट ‘इन्टर्नसीप’ को नाममा चर्को शुल्क असुली गरेको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
केही समयअगाडि स्थानीय प्रशासनको निर्देशनमा उक्त कलेजले अतिरिक्त शुल्न नलिने बताएको भएतापनि उक्त शुल्क मिनाहा नगरेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले कलेजमा तालाबन्दी गरेका हुन् ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झण्डै ५ लाख रुपैयाँ बढी मागेपछि अभिभावकसमेत आन्दोलित बनेका छन् । कलेजले आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिँदै आएको अभिभावकको भनाइ छ ।
कलेजले स्नातक तह (एमबीबीएस) मा भर्ना हुने विद्यार्थीबाट इन्टर्नशिपबापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार, होस्टेल शुल्क १ लाख ४४ हजार रुपैयाँ बुझाउन दबाब दिँदै आएको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि जम्मा कूल रकम ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्ष १४ लाख ७८ हजार ६७५ रुपैयाँ अभिभावकले बुझाएका छन् ।
चिकित्सा शिक्षा आयोगले पुस ५ गते एक सूचना जारी गर्दै होस्टल विद्यार्थीको ऐच्छिक विषय हुने जनाइसकेको छ ।