नारी शब्द आफैमा एउटा गर्बिलो र स्नेही शब्द हो जसबाट मानिसको सृष्टि चलिरहेको छ तर आजको समाजमा पनि उहीँ नारी माथिको हिंसा क्रूर र दर्दनाक बन्दै गइरहेको छ चाहे लैङ्गिक होस् वा शारीरिक होस् वा पारिवारिक होस् जसको विरुद्ध आजको सभ्य समाज बोल्नै पर्छ । तर हाम्रो समाजको शिक्षित वर्ग यसको विरुद्धमा खुलेर बोल्न सकिरहेको अवस्था छैन यो आखिर कहिले सम्म ? यो हाम्रो पुस्ताको लागि दुर्भाग्यको कुरा हो । शिक्षित वर्ग मौन बस्नु वा उहीँ वर्गबाट नारी माथि विभिन्न प्रकारका हिंसा वा दमन हुने यस्तो परिस्थितिले हाम्रो समाजमा परिवर्तनको परिकल्पना गर्न सकिन्छ ?
यतिखेर विश्वमा १६ दिने महिला हिंसा दिवस चलिरहेको छ । सन् १९९१ देखि सुरु भएको लैगिक हिंसा विरुद्धको अभियान यस वर्ष पनि मनाइँदै छ । नेपालले पनि २०५४ सालदेखि लैगिक हिंसाविरुद्धको सोह्र दिने अभियान मनाउँदै आइरहेको छ । आधा आकाश ओगट्ने महिलाहरू आजको आधुनिक युगमा पनि हिंसाको सिकार हुनु र आफ्नो मौलिक अधिकारबाट वञ्चित हुनु भनेको आफैँमा लज्जाको विषय हो ।
नेपालमा महिला हिंसा सदियौँदेखि अनेक रूपले भएको देखिन्छ । जीवन चक्रको सुरुवाती अवस्था देखिनै हिंसा भएको उदाहरण छन् । गर्भावस्थामा लिङ्ग पहिचान गरी गर्भपतन गर्नु गर्भवती समयमा कुटपिट हुनु , छोरी जन्माउनुको एकल दोषारोपण वा अन्य मानसिक पिडाहरू जहाँ छोरी जन्मिँदै पनि कयौँ विभेदको सामना गर्नुपर्ने समाजमा बाल यौन दुर्व्यवहार, हाड नाता करणी, पौष्टिक आहार तथा शिक्षामा भेदभाव, बाल विवाह, जबरजस्त विवाह तथा दाइजोको कारणबाट पनि कयौँ महिलाहरू मृत्यु बहन गर्न बाध्य छन् ।
विश्वव्यापी तथा नेपालको इतिहास हेर्ने हो भने हिंसाका विरुद्ध आवाज बुलन्द गर्ने सशक्त महिला योगमायाको त्याग तपस्यालाई कसैले नकार्न सक्दैन । वि.स.१८६७ मा पूर्वी पहाड भोजपुरमा जन्मिएकी योगमायाले राणा शासनकालमा महिलालाई सतीका रूपमा जिउँदै जलाउने, कमलरी प्रथा जुन प्रथामा मानिसलाई पशुसरह दास दासी बनाउने गरिन्थ्यो त्यसको विरुद्धमा सशक्त विद्रोहको आवाज उठाउनु भएको थियो । परिणाम स्वरूप मानिस दास दासीबाट मुक्ति भए । सती प्रथाको अन्त्य भयो । तर घरेलु हिंसा, छोरीलाई शिक्षा, बालविवाह, बहुविवाह, यौन हिंसा, जातीय विभेद, धार्मिक अन्धविश्वास, आदी जस्ता अत्याचार र विभेदले हाम्रो समाजमा आजसम्म पनि जरो गाडेर बसेको छ ।
बाँचुन्जेल समाजका विकृतिहरू चिर्न आफ्नो समय व्यतीत गरेकी योगमायाले यो समाजमा सदियौँदेखि रही आएको पितृसत्तात्मक सोच, सामन्ती सोच, शोषण, जातीयताका आधारमा गरिने छुवाछुत,विभेद , लैङ्गिक हिंसा विरुद्ध, आवाज उठाउँदा उठाउँदै वि.स.१९४१ असार २२ गते आफ्ना भक्त सहित जल समाधि लिन बाध्य हुनु पर्यो । समाज परिवर्तनको परिकल्पना गर्दागर्दै योगमायाले आफू लगायत अनुयायीहरू सहित प्राण त्याग गर्नु चानचुने कुरा पक्कै पनि होइन । जुन त्याग योगमायाको छ त्यो दिनलाई आज हामीले लैङ्गिक हिंसाविरुद्ध अभियानकाका रूपमा लिँदा फरक पर्दैन। त्यो बेला योगमायाले सुरु गरेको विद्रोह र अहिले विश्वमा चलेको १६ दिने अभियानको उद्देश्य महिला र बालिकामाथि हुने हिंसा अन्त्य गर्नु नै हो । यसरी १६ दिने महिला हिंसा विरुद्धको अभियान मनाइरहँदा हिंसाको मूल जड कहाँ छ ?
किन र के का लागि हिंसा भइरहेको भन्ने कुराको निदान हुनु र त्यस अनुसारको जनचेतना तथा कानुनी सजायको प्रत्याभूति गर्नु आजको आवश्यकता हो । एउटा नाबालिका छोरी आफ्नै बाबुसँग, दिदीबहिनी दाजुभाइसँग, बुहारी ससुरासँग असुरक्षित र भयभीत हुनुपर्ने अवस्थाको अन्त्य कहिले होला ?
एक्काइसौँ शताब्दीमा हाम्रो समाजमा एउटी महिलालाई कथित बोक्सीको आरोपमा बर्बर यातना दिने, जिउँदै जलाउने तथा महिनावारी भएकै कारण कतिपय समाजमा किशोरी छाउपडी बस्न बाध्य छिन् । महिला अधिकारको बारेमा ठुला ठुला कुरा गर्ने समाजको अगुवा पुरुषले आफ्नो श्रीमतीलाई बन्द कोठामा थुनेर चोकमा भाषण गरिरहेको हुन्छ । भलै आजको पिँढी शिक्षित किन नहोस् तर परम्परागत सोचमा खासै परिवर्तन भएको पाइँदैन यसले समावेशी र दिगो विकासमा चुनौतीहरू थपेको छ । पछिल्लो समय कोरोनाले आक्रान्त बनेको समाजमा महिला हिंसाका घटनाहरू अस्वाभाविक बढेको देखिन्छ ।
सम्मान र स्वाभिमान पूर्वक बाँच्न हरेक व्यक्तिको नैसर्गिक अधिकार हो। कुनै पनि व्यक्तिलाई लैङ्गिक विभेदकारी सामाजिक मूल्य मान्यताका आधारमा शारीरिक, मानसिक तथा यौनजन्य डर, त्रास, धम्की लगायतका क्रियाकलापहरूले समाजमा भएको सामाजिक भावनालाई खलबल्याउँछ साथसाथै यसले व्यक्तिको विकास र समानतामा असर पुर्याउँछ । यस्ता हिंसाले व्यक्तिको पहिचान लगायत समानता, स्वतन्त्रता, अवसर आत्म सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हनन भएको हुन्छ ।
लैगिक समानताको वकालत गर्ने लोकतान्त्रिक मुलुक र खास गरी नेपाल जस्तो पूर्वीय दर्शन बोकेको समाजमा समान अधिकार सुनिश्चित गर्न सके मात्रै सही अर्थमा समृद्ध नेपाल सुरक्षित नारीको अवधारणाले सार्थकता पाउने थियो ।
वर्षौँदेखिको सामन्ती सोचविचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोच परिवर्तन गराउन अब महिलाहरू पनि जाग्नु जरुरी छ । नेपालको अन्तरिम संविधान २०६३ को मौलिक हक अन्तर्गत धारा २० ले महिलाको हकमा कुनै पनि महिला विरुद्ध शारीरिक, मानिसक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानुनद्वारा दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ । त्यसैले प्रत्येक घर घर वाट महिलामाथि हुने गरेका सबै प्रकारका हिंसा विरुद्ध आवाज उठाउनु आजको आवश्यकता हो । आउनुहोस् , तपाई अनि म आजैदेखि घरै वाट सुरु हुने महिला हिंसा अन्त्यको लागि एकाकार र गोलबन्द गरौँ । सशक्त आवाज र प्रतिकार गरौँ ।