महिला हिंसासम्वन्धि १६ दिने अभियानमा १६ वटा स्टोरीहरू पस्कनेछौं । यसैमा यो सातौँ स्टोरी हो । थप स्टोरीहरू यो लिंकबाट हेर्न सक्नुहुन्छ ।
जसका कोही हुँदैनन्, उसका भगवान् हुन्छ भन्ने पुरानो एउटा उखान छ । सोही उखानको तात्पर्यका रूपमा मान्नुपर्छ, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ की ३४ वर्षीया रुबी खानलाई । जसले मुस्लिम समुदायमा हुर्केर पनि पढ्ने, नोकरी गर्ने र न्यायका लागि निरन्तर सङ्घर्ष गर्ने साहस गरिन् । २०४४ सालमा मुस्लिम परिवारमा एक दाजु र एक दिदीपछि तेस्रो सन्तानका रूपमा जन्मिएकी उनले बाल शिक्षा लिँदा ठुलो सङ्घर्ष गर्नुपर्यो ।
‘मुस्लिमकी छोरीले पढ्न हुँदैन’ भन्ने समाजले लगाएको विभिन्न अङ्कुश पार गर्दै रुबीले मदरसामा केही समय पढिन् । त्यसपछि कक्षा चारमा सरकारी स्कुल भर्ना भई कक्षा ६ सम्म पढिन् । रुबीलाई पढाउन उनकी आमाले स्थानीय उद्योगका चकलेट प्याक गरिन् । त्यहाँबाट आएको पारिश्रमिक उनको पढाइ खर्च बन्यो । हुन त उनले सुनेकी थिइन् । सरकारी विद्यालयमा पढ्दा पैसा लाग्दैन । तर सुनेको र भोगेको कुरामा फरक पाइन उनले । आमाको अथक मेहनतले उनमा पढाइप्रतिको जोस बढ्यो ।
‘मेरो जन्म जुन समुदायमा भयो, जुन घरमा भयो, त्यहाँ धेरै कुरामा प्रतिबन्ध छन्,’ उनी भन्छिन्, ‘म जन्मे–हुर्केको ठाउँ महिलाहरूका लागि कठोर छ । महिलालाई हेर्ने दृष्टिकोण फरक छ । मेरो समाज पुरुषबिना महिलाको अस्तित्व नभएको औँल्याउँछ । मुस्लिम समुदायमा महिलामाथि हुने कुटपिट, हिंसा पुरुषका लागि सामान्य हो । मैले भोगेको छु, प्रत्येक दिन महिलामाथि उनीहरूका सन्तानकै अगाडि कुटपिट हुन्छ ।’
‘‘महिला हिंसाका लागि लड्नलाई सगरमाथा चढ्ने साहसिलो आरोहीजस्तो हुनुपर्ने रहेछ । जसरी अनेक हिम पहिरोले थिच्दा पनि हिमाल आरोहीले आफ्नो उद्देश्य चुचरोसम्म पुर्याउँछ, त्यसरी नै अभियन्ताले अनेक बाधा अड्चन सहेर अरूका लागि बोल्नुपर्ने रहेछ ।’’
त्यस्तै कुराहरूको प्रत्यक्ष दर्शक बनेर उनले पढ्नका लागि ठुलो साहस बोकेर कम्मर कसेकी थिइन् । अनि रुबीलाई पढाउन उनकी आमाले ठुलो सङ्घर्ष गरिन् । रातदिन चकलेट प्याक गरिन् । तर जो आफूलाई नेता वा सामाजिक अगुवाका रूपमा परिचित गराउँथे उनीहरू नै रुबीलाई पढाउन हुँदैन भन्न उनका घरसम्म आइपुग्थे । रुबीकै अगाडि उनकी आमालाई भन्थे : रुबीकै कारण मेरी छोरी बिग्रिई पढ्न मन गर्दैछे ।’ तर आमाले अरूलाई होइन, रुबीलाई विश्वास गर्थिन् ।
तर कक्षा ६ मा उनलाई अङ्कुश लगाउँदै विद्यालयबाट ड्रप आउट गराइयो । अर्को वर्ष पुनः उनले कक्षा ६ देखि पढ्न थालिन् । दाजुले कमाइ गरी परिवारको आर्थिक अवस्था सुधार गरिसकेका थिए । यस्तै, नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले पनि उनलाई पढ्न सहयोग गर्न थाल्यो । २०६४ सालमा एसएलसी उत्तीर्ण गरिन् । एसएलसीपछि नै उनले जागिर खाने अवसर पाइन् । शुकलाल नेपालीको अध्यक्षतामा वादी समुदायको उद्धारका लागि खुलेको एक संस्थामा आबद्ध हुँदा पनि उनले समाजबाट उत्तिकै अपहेलना सहनुपर्यो ।
‘छोरीको पैसा खाने परिवार’ भन्दै उनी र उनको परिवारमा आक्षेपहरू आइरहे । मुस्लिम समुदायमा मात्र नभएर अन्य समाजमा पनि पुरुषले महिलामाथि शासन चलाउने, कमजोर आँक्ने, निर्णय प्रक्रियामा सहभागी नगराउने र निरन्तर थिचोमिचो गर्नेलगायत समस्या प्रत्यक्ष रूपमा देखेपछि भने रुबीले महिला अधिकारका लागि आवाज निकाल्ने अभियानमा थालेकी हुन् ।
विगत सम्झिँदै उनी भन्छिन्, ‘पढ्दा जसोतसो टारेकै थिएँ । पछि जागिर खाँदा उत्तिकै आरोप लागिरहे । तर अरूभन्दा पनि मेरो समाजमा महिलामाथि हुने हिंसा–थिचोमिचो रोक्न भनेर नै मैले अगाडि बढ्ने साहस गरिरहेँ । जागिर गर्दा पनि स्वयंसेवकका रूपमा थालेको थिएँ । अफिसबाट अलि–अलि आउने पैसा पनि महिलाको न्यायका लागि लड्दा सकिन्थ्यो । गोजी रित्तो हुँदा पनि मन प्रफुल्लित हुन्थ्यो । अझै पनि मैले जागिर खाएको १० वर्ष बित्यो । अहिलेसम्म एक पैसा घरमा दिएकी छैन ।’ घरमा पनि जागिरको पैसाबारे कुरो नउठ्ने उनी बताउँछिन् । बरु आफ्नी छोरीको साहस देखेर आमा–बुबा दङ्ग पर्ने गरेकोमा उनी पनि सन्तुष्ट छिन् ।
अभियानको १३ वर्ष, रोकिएनन् अझै न्यायका लागि हिँड्ने पाइला
एलएसली उत्तीर्ण गरेपछि सुरु भएको उनको अभियानले विश्राम पाएको छैन, बरु विस्तार भई बृहत् बन्दै गएको छ । पीडित महिलाको आवाज बोलिदिँदै गर्दा उनलाई विभिन्न संस्थाले जागिरका लागि प्रस्ताव गरे । तर विशुद्ध महिला हिंसाविरुद्धमा लड्ने अठोट गरेकी उनले हास्रुन इदृषी हत्या प्रकरणबाट महिला हिंसाविरुद्ध बोल्न थालिन् । नेपालगन्जमा जिउँदै जलाइएकी इदारिसी हत्या प्रकरणमा न्याय माग्नका लागि उनी नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको सहायतामा आन्दोलनमा सहभागी भएकी थिइन् ।
‘कोहलपुरमा कार्यालय रहेको सो संस्थामा एउटा महिला प्रेसर समूह थियो’, उनी भन्छिन्, ‘पीडितका आमा–बुबा रुँदै कार्यालय आएपछि सत्य तथ्य बुझेर अभियान थाल्यौँ । चारैतिर विरोध गरेपछि मलाई अझ यस अभियानमा दिलोज्यान दिएर लाग्न मन भयो ।’
यस्तै, दोस्रो प्रकरणका रूपमा रेखा तमौली प्रकरणमा भने रुबी १९ दिन चौबीसै घण्टा गरेर रिले अनशनमा बसेकी थिइन् । रेखालाई उनका पति र ससुराले चरम यातना दिएर हत्या गरेका थिए । त्यसमा जिल्ला प्रशासन कार्यालय बाँकेको गेटअगाडि महिला अधिकार मञ्चले रिले अनशन गर्दा पनि प्रहरीले आत्महत्या भनेर दाबी गरेपछि रुबीकै नेतृत्वमा उक्त प्रकरणलाई पुनः अनुसन्धान गराएर अदालती मुद्दा सुरु भएको थियो ।
त्यसपछि २०६६ साल माघ ११ गते निर्मला कुर्मी बेपत्ता प्रकरणको निवेदन उनीसमक्ष आएको थियो । निर्मला कुर्मी प्रकरणमा भने रुबीले लामो समयदेखि न्याय माग गरिरहेकी छन् । उनको यो अभियानका अगाडि सरकार र न्यायिक प्रशासनले घुँडा टेक्नेमा उनी विश्वस्त छिन् ।
निर्मला र नकुन्नीका लागि न्याय मागिदिन २० दिन पैदल यात्रा
बाँकेकी नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणलाई लिएर हाल रुबीसहित १६ जना अधिकारकर्मीहरू काठमाडौँमा धर्नामा छन् । यसअघि उनीहरू दोषीको छानबिन र कारबाही हुने शर्तमा घर फर्किएका थिए । तर सरकारले कानमा तेल हालेर सुतिदिँदा १४ अधिकारकर्मी फेरि न्याय माग्दै काठमाडौँ आए । सोमबार थप दुई जना थपिएपछि हाल उनीहरूको सङ्ख्या १६ पुगेको छ ।
यसअघि उनीहरूले ११ दिन नेपालगन्जमै धर्ना दिएका थिए । १२औँ दिनमा गत बिहीबार काठमाडौँ आएर माइतीघर मण्डलामा धर्ना दिइरहेका उनीहरूको प्रमुख माग छ– मुख्य अभियुक्त तथा पूर्व सांसद बादशाह कुर्मीलाई पक्राउ गरी सजाय गरियोस् । सोही माग बिसाउन गत असोजमा रुबीको नेतृत्वमा रहेको टिम नेपालगन्जबाट २० दिन लगातार पैदल यात्रा गरेर काठमाडौँ आएको थियो ।
रुबीले काठमाडौँमा पछिल्लो पटक १२ दिन अनशन बसी देशको न्याय प्रणालीलाई दस्तक दिएकी थिइन् । घरेलु हिंसाबाट मारिएका नकुन्नी र निर्मलाको न्यायका लागि उनका छिमेकी तथा स्थानीयहरू अघिल्लो पटक नेपालगन्जबाट २१ दिन हिँडेर माइतीघरमा धर्ना दिन आएका थिए । नकुन्नी दाइजोका नाममा घरेलु हिंसामा परेकी थिइन् । निर्मलाको घटना भने करिब १४ वर्ष पुरानो हो । उनले आफ्ना श्रीमान् र दुई छोरा गुमाएकी थिइन् । त्यही बेला बादशाहको आँखा उनको सम्पत्तिमा गढेको र उनले नै निर्मलाको अपहरण गरी सम्पत्ति हडपेको रुबी बताउँछिन् । बादशाह २०६४ को संविधानसभामा कांग्रेसबाट सभासद् थिए ।
‘लगातार २१ दिन हिँड्दा हाम्रो हालत के भएको थियो होला, तपाईँ आफैँ अनुमान गर्नुस् न’, उनी दुखेसो पोख्दै भन्छिन्, ‘हामीलाई देखेर सरकार किन अन्देखा गरेर बसिरहेको छ ? अझ, फैसला उनीहरूकै पक्षमा गर्दा पीडितको आँसुले पिरोल्छ भन्ने सरकारलाई लागेन ?’ तीन साता लगातर हिँड्दा स्थानीयहरू गरेको सहयोगले यो अभियानमा लागेको सम्झिँदा गर्व लागे पनि न्याय दिने निकायले निष्पक्ष फैसला नगरिदिँदा मन पोलेको उनको दुखेसो छ ।
प्रहरीले गत कात्तिक २२ गते जिल्ला अदालत बाँकेबाट जारी भएको पुर्जीका आधारमा उक्त घटनामा मुछिएका सात जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कृष्ण मुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह थिए । बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको थियो । मुख्य दोषी बादशाह कुर्मी पक्राउ परेका थिएनन् । आइतबार अन्य दोषीलाई पनि हाजिरी जमानीमा छाडेपछि आन्दोलनले अब चर्को रूप लिने उनी बताउँछिन् ।
महिला हिंसाविरुद्ध लड्दा ज्यान मार्ने गरी भएका दुई घटना
रुबीमाथि सानो उमेरमा नपढ्न र जागिर नगर्न समाजको चेतावनी आउँथ्यो । त्यसलाई जसोतसो सहेकै थिइन् । समाज यस्तै हो, हामीले नै परिवर्तन गर्नुपर्छ भन्ने चेतना थियो उनमा । तर जब रुबीले महिला हिंसाका बारेमा आवाज उठाउन थालिन्, उनीमाथि चेतावनी ज्यान मार्ने हमलासमेत भयो । कति पटक ज्यान मार्ने धम्की आएपछि सुरक्षाकर्मीको सहायता पनि लिनुपर्यो उनले । रेखा तमौली हत्या प्रकरणको नेतृत्व गरिरहँदा उनलाई दुई पटक ज्यान मार्ने उद्देश्यले हमला भयो । साइकल चलाउँदै घर जानेक्रममा एक पटक भारतीय नम्बर प्लेटको मोटरसाइकलले पछाडिबाट ठक्कर दिइयो । त्यस बेला उनी पछारिइन । चोट लाग्न पाएन ।
‘‘महिला हिंसाका लागि लड्नलाई सगरमाथा चढ्ने साहसिलो आरोहीजस्तो हुनुपर्ने रहेछ । जसरी अनेक हिम पहिरोले थिच्दा पनि हिमाल आरोहीले आफ्नो उद्देश्य चुचरोसम्म पुर्याउँछ, त्यसरी नै अभियन्ताले अनेक बाधा अड्चन सहेर अरूका लागि बोल्नुपर्ने रहेछ ।’’
दोस्रो पटक घरैअगाडि गेटमा भारतीय नम्बर प्लेटकै स्कारपियोले ठक्कर दियो । ठक्करपछि पनि ज्यान मार्ने उद्देश्यले उनलाई पुनः किल्चाउने गरी आएको स्कारपियोबाट उनी बच्न सफल भइन् । विगत सम्झिँदै उनी भन्छिन्, ‘मृत्यु नजिक थियो तर दीन आएको रहेनछ । बाइकले ठक्कर दिँदा सामान्य चोटपटक लाग्यो । स्कारपियोले भने २१ दिन अस्पताल बस्ने गरी घाइते बनायो । मार्न भनेर स्कारपियो ब्याक सारियो । नालीमा खसेर बाँच्न सफल भएँ ।’
त्यसबाहेक उनलाई समाजका ठुला भनौदाबाट फोनमा धम्की आयो । त्यस बेला भने सुरक्षाको अनुभूति गर्न उनी काठमाडौँ आइपुगेकी थिइन् । समाज सुधार्ने र महिलाका लागि लड्दै गर्दा ज्यान मार्ने गरी हमला र धम्की आएपछि उनलाई लाग्यो कि महिला हिंसाका लागि लड्नलाई सगरमाथा चढ्ने साहसिलो आरोहीजस्तो हुनुपर्ने रहेछ । जसरी अनेक हिम पहिरोले थिच्दा पनि हिमाल आरोहीले आफ्नो उद्देश्य चुचरोसम्म पु¥याउँछ, त्यसरी नै अभियन्ताले अनेक बाधा अड्चन सहेर अरूका लागि बोल्नुपर्ने रहेछ ।
‘म ठुली हुँदासम्म समाज बामे सर्दैछ’
उनी जब ५–६ कक्षामा पढ्थिन् । त्यस बेला उनले देखेको समाज र अहिलेको शिक्षित भनौदो समाजमा उनले फरक पाएकी छैनन् । अझ, शिक्षित भइसकेका मानिसले दाइजोमा नाममा गर्ने हिंसा, यौन हिंसा र भौतिक सुखका लागि युवा पिँढीले गराउने आपराधिक अवस्था हेर्दा समाज अझै बामे सर्ने अवस्थामा रहेको उनको निष्कर्ष छ ।
‘हामीले समाज रूपान्तरणकै लागि सङ्घर्ष गरिरहेका छौँ’, उनी भन्छिन्, ‘म त भन्छु हिंसारहित समाज स्थापना होस्, हामीजस्ता अभियन्ता बेरोजगार बनुन् । तर समाज उस्तै छ, फेरिएको केही छैन । थुप्रै अभियन्ताको जीवनकाल बित्यो । समाज बदल्न उनीहरूले गरेको सङ्घर्ष बेकामे बन्यो । तर समाज उस्ताको उस्तै छ, अझै पनि बामे सरिरहेको छ शिक्षित भनौदो हाम्रो समाज ।’