काठमाडौं। गत भदौ १० गते ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट वागमती प्रदेशमा १३ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको पाइएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ बिहीबार प्रदेश सरकारसमक्ष पेश गरिएको हो।
प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रको विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री किरण थापा मगरलाई हस्तान्तरण गरेका हुन्।
प्रतिवेदनअनुसार सडक, पुल तथा सरकारी भवनमा पाँच अर्ब ६९ करोड सात लाख, विद्यालयमा चार अर्ब ९८ करोड १२ लाख, उद्योग तथा व्यापारिक प्रतिष्ठानमा दुई अर्ब ९७ करोड १२ लाख, खानेपानी तथा सिँचाइमा ५२ करोड ७९ लाख र बाली, पशुधन तथा फार्ममा २८ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ भने चितवनका तटीय क्षेत्रसमेत प्रभावित भएका छन्। प्रतिवेदनअनुसार बाढीपहिरोमा परी एक हजार ४५५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच हजार २८५ जना अझै बेपत्ता छन्। १३ हजार ७९५ जनाको उद्धार गरिएको र ३४४ जना घाइतेले उपचार गराएका छन्।
बाढीमा दुई हजार ३०० निजी आवास पूर्ण रूपमा बगेका वा क्षतिग्रस्त भएका छन् भने २६९ घरमा आंशिक क्षति पुगेको छ। ३४ वटा मोटरेबल पुल, ५१ वटा झोलुङ्गे पुल र ३.५ किलोमिटर कालोपत्रे सडकमा क्षति पुगेको छ।
शिक्षातर्फ १२ विद्यालय पूर्ण र १८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ३५ विद्यालय भवन तथा ३१७ कक्षाकोठामा क्षति पुग्दा नौ हजार २४८ विद्यार्थीको पठनपाठन २१ दिनसम्म प्रभावित भएको थियो। स्वास्थ्यतर्फ छ स्वास्थ्य केन्द्र, सात निजी स्वास्थ्य संस्था तथा औषधि पसल र दुई स्वास्थ्य शाखा तथा स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
खानेपानीका ५५ आयोजना तथा इन्टेकमा क्षति पुग्दा ९६५ घरधुरी प्रभावित भएका छन्। ४४ वटा सिँचाइ कुलो क्षतिग्रस्त हुँदा ५९० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ। ९७३ हेक्टर कृषि भूमि प्रभावित भएकामा ४७१ हेक्टरमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनमा उल्लेख छ।
बाढीमा ७०२ ठूला पशु, दुई हजार १२३ साना पशु तथा एक लाख ३४ हजार कुखुरा र अन्य पन्छी मरेका छन्। उद्योग तथा व्यापारतर्फ ३०० घरेलु तथा साना उद्योग र ६७ व्यापारिक पसल तथा प्रतिष्ठानमा क्षति पुगेको छ। ३० वटा गोदाम बगेका छन् भने करिब एक हजार ७०० श्रमिकको रोजगारी प्रभावित भएको छ।
बाढीपहिरोमा १०२ बालबालिकाले बाबुआमा दुवै गुमाएका छन्। विभिन्न होल्डिङ सेन्टरमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रित छन्। ३८ होल्डिङ सेन्टरमा तत्काल मनोसामाजिक परामर्श आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।
खोज तथा उद्धारमा सुरक्षाकर्मी र स्वयंसेवक गरी २० हजार ४७७ जना परिचालन भएका थिए। प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नुवाकोटमा पाँच तुइन र दुई जिपलाइन तथा रसुवामा तुइन सञ्चालनमा ल्याइएको छ।
प्रतिवेदनले पूर्ण मूल्याङ्कनपछि मात्रै बाढीबाट भएको समग्र क्षतिको अन्तिम विवरण यकिन हुने जनाएको छ।