काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया बदली रहने जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका अधिकांश भू–भागमा बादल लाग्ने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
रातिको समयमा हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बादल लाग्ने तथा बाँकी तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
राति हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ। पहाडी भू–भागका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।