काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद्को बैठक बोलाएका छन् ।
परिषद्का एक सदस्यका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिसलगायत विषयमा छलफल हुने बताइएको छ ।
हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेको छ । ती पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा बैठकमा छलफल हुने परिषद् स्रोतले जनाएको छ ।
परिषद्का एक सदस्यका अनुसार बैठकको एजेण्डामा ‘नियुक्ति’ र ‘विविध’ विषय राखिएको छ । उनका अनुसार सर्वोच्चका न्यायाधीश नियुक्तिबारे पनि छलफल हुने सम्भावना छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का रहेका छन् ।