पोखरा– पोखरामा उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्यका लागि ‘बीटुबी’ कार्यक्रम आयोजना गरिएको छ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन परिषद्को सहकार्यमा होटल एसोसिएसन नेपाल गण्डकी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी र होटल एसोसिएसन पोखराको आयोजनामा शुक्रबार कार्यक्रम भएको हो।
‘पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सञ्जाल विस्तार’ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उत्तरपूर्वी भारतीय पर्यटन महासङ्घका प्रतिनिधि तथा पोखराका पर्यटन व्यवसायी सहभागी थिए।
कार्यक्रममा नेपाल र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीबीच पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विषयमा छलफल भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरी भुजेलले बताए। प्रत्यक्ष भेटघाट र व्यावसायिक सम्बन्ध विस्तारले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
होटल एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको ‘चलिए पोखरा’ अभियानलाई उत्तरपूर्वी भारतसम्म विस्तार गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाए।
नाट्टा गण्डकीकी अध्यक्ष संगीता पौडेलले भारतीय पर्यटकको आगमन बढाउने तथा पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटन सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। पर्यटन व्यवसायीबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्न कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो।
उत्तरपूर्वी भारतीय पर्यटन महासङ्घका अध्यक्ष छिरिङ वाङ्गेले पोखरा भ्रमणका क्रममा स्थानीय पर्यटन व्यवसायीसँग भएको भेटघाट र छलफलले आगामी दिनमा नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। पोखरासँग सहकार्य गरेर विभिन्न पर्यटनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने उनले बताए।
महासङ्घका महासचिव याङ्चेन टोङ्देन लेप्चाले उत्तरपूर्वी भारत र नेपाललाई सीमाले छुट्याए पनि पर्यटनको क्षेत्रमा साझा उद्देश्य रहेको बताए। आगामी दिनमा पोखरा र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीले पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।