काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन अदालतबाट तीन दिनको म्याद थप भएको हो।
साइबर ब्यूरोको टोलीले प्रसाईंलाई आइतबार दिउँसो भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई लक्षित गरी चरित्र हत्या गर्ने, भ्रामक तथा अनर्गल सामग्री प्रसार गर्ने र विद्युतीय माध्यमको दुरुपयोग गरी सामाजिक सद्भावमा असर पार्ने किसिमका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रसाईंमाथि सामाजिक सञ्जालमा प्रकाशित सामग्री तथा अभिव्यक्तिका विषयमा अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप भएसँगै ब्यूरोले घटनासँग सम्बन्धित थप प्रमाण संकलन, डिजिटल सामग्रीको परीक्षण तथा प्रसाईंसँग सोधपुछ गर्ने जनाएको छ।
यसअघि पनि विभिन्न विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण प्रसाईं पक्राउ पर्दै आएका छन्। पछिल्लो पक्राउसम्बन्धी घटनामा भने प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।